मैनहिया–सम्पत्तिया प्रसारण लाइनकाे निर्माणकार्य ६० प्रतिशत सकियो, बुटवल–लुम्बिनी अन्तिम चरणमा

 चैत ६, २०७८ आइतबार १३:१९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया–सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माणकार्य ६० प्रतिशत सकिएको छ ।

रुपन्देहीको मैनहिया सबस्टेशनबाट भारतको उत्तर प्रदेशमा रहेकाे सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेशन जोड्ने प्रसारण लाइनको निर्माण आउँदाे असारसम्ममा सक्ने लक्ष्य लिइ धमाधम काम भइरहेको छ ।

२८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ वटा टावरमध्ये ४४ वटाको जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ । प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । प्रसारण लाइनका उपकरणहरु आयोजनास्थलमा ल्याइसकिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका सञ्चालकहरु, कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकसहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन भ्रमण गरेको छ । टोलीले नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि यो लाइन महत्त्वपूर्ण रहेकाले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिएको छ ।

नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति माघमा पोखरामा सम्पन्न छैटौँ बैैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनुवा–मैनहिया १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको थियो । यसपछि २०७६ कात्तिकमा भारतको बेङ्ग्लोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले प्रसारण लाइनलाई न्यू नौतनुवा (सम्पत्तिया,भारत) सबस्टेशनमा जोड्ने निर्णय गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोले आन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बनाउन १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागिएको बताउनुभयो ।

‘नेपाललाई आवश्यक परेमा आयात गर्न र यहाँ खपत गरी बढी भएको विद्युत् उत्तर प्रदेशमा निर्यातका लागि यो लाइन महत्त्वपूर्ण छ’, घिसिङले भन्नुभयो । ‘लाइन सम्पन्न भएपछि भारतको उत्तर प्रदेशसँग पनि १३२ केभीको प्रसारण पूर्वाधार तयार हुने छ, यसबाट दुई देशबीचको विद्युत् व्यापार थप सहज र विस्तार हुने छ ।’

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी रहेको छ । मैनहिया १३२ केभी सबस्टेशनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमा बिन्दु मर्चवार (श्रीरामपुर)  सम्म निर्माण गरिने छ ।

भारतर्फ लाइन जोड्नका लागि सबस्टेशनमा दुई वटा वे र ३/४ वटा टावर निर्माण गर्नुपर्ने आयोजनाका प्रमुख हरि पाण्डेले बताउनुभयो । त्यस कार्यका लागि नेपालले रकम उपलब्ध गराउने र भारतीय पक्षले काम गर्ने सहमति भएको पाण्डेले उल्लेख गर्नुभयो ।

बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्म निर्माणाधीन १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत रहेको छ ।

१८ किलोमिटर प्रसारण लाइनमा पर्ने ५६ वटा टावरमध्ये ५५ वटा निर्माण सम्पन्न भएको छ । १० किलोमिटर तार टाँगिएको छ । बुटवल बजार क्षेत्रमा प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गर्ने काम भइरहेको छ ।

मैनहिया सबस्टेशनमा राखिने १३२/३३ केभी, ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये एउटाको जडान भइसकेको छ । बाँकी एउटा र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर आयोजनास्थलमा ल्याउने क्रममा रहेको छ । प्रसारण लाइन र सबस्टेशन दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया