एमालेमा उम्मेदवार छान्ने मापदण्ड : लाेकप्रियता, चुनावमा जितकाे पक्कापक्की

 चैत ७, २०७८ सोमबार १८:४८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले स्थानीय तह चुनावमा उम्मेदवार चयनमा मापदण्ड बनाएकाे छ । आज सोमवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकले यस्ताे निर्णय गरेकाे एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयाे । 

गुरुङका अनुसार स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यमा वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरूले गर्नेछ । त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटीले सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ ।

प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताउनुभयो । उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ ।

विगतको कामको मूल्याङ्कन, उनीहरूको कार्यक्षमता, विकास र सुशासनप्रति उनीहरूको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको उहाँकाे भनाइ छ । त्यसैगरी लोकप्रियता, चुनावमा जित्ने निश्चिततालाई पनि अर्को मापदण्ड हुने प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा पुर्‍याएकाे योगदान, पार्टीप्रतिको उसको निष्ठा पनि उम्मेदवार चयनका आधारहरू हुनेछन् । 

यसैगरी एमालेले आउँदाे वैशाख ९ गते स्थानीय तह चुनावकाे घोषणापत्र सार्वजनिक गर्ने भएको छ । प्रचार विभाग प्रमुख गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणा पत्र र सबै स्थानीय तहले आ–आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 

यस्तै पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापनका लागि आवश्यक विभागहरू गठन गर्ने अनुमति आवश्यकताअनुसार प्रदेश र जिल्ला कमिटीहरूलाई दिने निर्णय पनि बैठकले गरेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया