अब माओवादी 'ब्रान्ड' समातेर देश विकास हुँदैन : भट्टराई

 चैत ११, २०७८ शुक्रबार १८:५३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी ब्रान्ड समातेर देश विकास नहुने बताउनुभएको छ । आज शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाण्डाैमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । 

भट्टराईले समय धेरै फेरिसकेको भन्दै अब माओवादीका नेताहरूलाई अब आर्थिक विकास र समृद्धिको बारेमा साेच्न पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘अब माओवादी ब्रान्ड समातेर देशको विकास हुँदैन । जनयुद्धप्रति मलाई गर्व छ, माओवादको एउटा फौजी पक्ष थियो, त्यसको हामीले सफलतापूर्वक प्रयोग गरेका थियौँ । तर अब जहाँसम्म आर्थिक निर्माणको पक्ष छ, पुरानो सत्ता भत्काउन त फौजी पक्षको आवश्यक्ता थियो हामीले भत्कायौँ । तर नयाँ निर्माण गर्नका निम्ति अब त अर्थ राजनीति पक्ष जरुरी छ । अब माओवादी भएर होइन, अब त्याङवादी भएर काम गरेमा आर्थिक विकास र समृद्धि ल्याउन सकिन्छ । हामीले छिटो दुई अङ्कको वृद्धि दर हासिल गर्नुछ, रोजगारी सिर्जना गर्नुछ, व्यापार घाटा घटाउनुछ र देशको तीव्र गतिले विकास गर्नुछ भने हामीले हिजोको उदारवाद र हिजोको साम्यवादको मोडेलभन्दा फरक ढङ्गले अघि जाने आँट गरौँ ।’

यस्तै नेता भट्टराईले अर्थतन्त्रलाई तथ्याङ्कको खेलबाट मुक्त गर्न युवा अर्थशास्त्रीहरूलाई सुझाव दिनुभयो । उहाँले नेपालको अर्थतन्त्र कसरी यस्तो भयो, कसरी समाधान गर्ने भन्ने कुरा सोच्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अहिले के भइरहेको छ, के चाहिएको छ, हामी गरिब छौँ, बेरोजगार छौँ, परनिर्भर छौँ, आयातमा निर्भर छौँ, पुँजीको अभाव छ, भएको पुँजी पनि खर्च गर्ने क्षमता छैन । भ्रष्टाचार छ । असमानता छ, विभेद छ । हामी सबैलाई थाहा छ । तर किन भयो, यो त रोगको लक्षण छैन । ज्वरो आयो त्यो त रोगको लक्षण हो, तर ज्वरो धेरै तरिकले आउँछ । त्यसैले ४०/५० वर्षदेखि किन यो भइरहेको छ ? आर्थिक वृद्धि दर ३०/४० वर्षदेखि चार प्रतिशत मात्रै छ । जबकि यो बीचमा हाम्रा छिमेकी देशहरूले हामीलाई उछिनेर अघि गइसक्यो । अनि हामी चाहिँ कहाँ चुक्यौँ ? यसबारे छलफल हुनुपर्छ ।’

भट्टराईले अर्थतन्त्रलाई तीव्र गतिले रूपान्तरण गर्नका लागि औद्याेगिक रूपान्तरण गर्न आवश्यक रहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया