१ सय ३२ केभीको लाहाचोक सबस्टेशन उद्घाटन

 चैत १४, २०७८ सोमबार १८:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – नयाँ मोदी (पर्वत)–लेखनाथ (कास्की) एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेशन उद्घाटन भएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज सोमवार आयोजनाअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ मा निर्माण गरिएको एक सय ३२ लाहाचोक सबस्टेशन उद्घाटन गर्नुभएको छ ।

सबस्टेशनमा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, आट एमभीएका पावर ट्रान्सफर्मरहरू रहेका छन् । सबस्टेशनमा स्थानीय रूपमा बिजुली आपूर्तिका लागि ३३ केभीकाे एउटा लाइन बे र चार वटा ११ केभीका फिडरहरू रहेका छन् ।

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको मोदी गाउँपालिका २ देउपुरमा रहेको सबस्टेशनबाट लाहाचोकसम्मको एक सय ३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेको छ । नयाँ मोदी एक सय ३२ केभी स्विचिङ स्टेशनमार्फत मोदी जलविद्युत् केन्द्र हुँदै लाहाचोक सबस्टेशन राष्ट्रिय ग्रिडमा जोडिएको छ । साथै सबस्टेशनबाट हेम्जा ३३/११ केभी सबस्टेशन पनि जोडिने छ ।

लाहाचोक सबस्टेशनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा बिजुली आपूर्ति दिइएको छ । यसबाट त्यस क्षेत्रको बिजुली आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखराबाट त्यस क्षेत्रमा बिजुली आपूर्तिका लागि लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । अब लाहाचोक सबस्टेशनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको बिजुली सेवा सुधार भइ उपभोक्ताले भरपर्दो र गुणस्तरीय सेवा पाएका छन् । विद्युतको प्राविधिक चुहावट समेत घटेको छ ।  

पर्वत, कास्कीलगायतका जिल्लाको बिजुली आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको बिजुली प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण सुरु गरिएको हो । कुल अनुमानित लागत दुई अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र आयात निर्यात (एक्जिम) बैंक भारतको सहुलियतपूर्ण ऋण रहेको छ ।

कार्यक्रममा मन्त्री भुसालले विगतमा बत्ती बाल्ने कुरा मात्रैै चर्चा हुने गरेकोमा अब उद्योग कलकारखाना, यातायातलगायतका सबै क्षेत्रमा बिजुलीकाे उपभोग गर्ने अवस्थामा पुगिएको र नेपाल ऊर्जामा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेको बताउनुभयो ।

आन्तरिक रूपमा खपत गरेर बढी भएको बिजुली निर्यात गरी नेपालले बेहोरिरहेको व्यापार घाटा कम गरिने उल्लेख गर्दै मन्त्री भुसालले अहिले हिउँदका केही महिना मात्र बिजुली आयात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

‘नदीमा पानीको बहावका आधारमा बिजुली उत्पादन हुने आयोजना बढी रहेकाले बर्खामा धेरै बिजुली उत्पादन हुने र हिउँदमा कम हुने अवस्था छ, हिउँदको माग धान्न केही महिना मात्र आउँदाे वर्ष बिजुली आयात गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘बर्खामा बढी भएको बिजुली निर्यातका लागि छिमेकी देशसँग बिजुली व्यापार वृद्धिका लागि सकारात्मक छलफल भइरहेको छ, छिट्टै निष्कर्षमा पुग्नेछौँ ।’ मन्त्री भुसालले प्रसारण लाइन आयोजनाबाट प्रभावितलाई पनि लाभ दिलाउने विषयमा नीतिगत निर्णय गर्न लागिएको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रसारण लाइन निर्माणमा स्थानीयवासीले उठाएको वास्तविक समस्यालाई सम्बोधन गरी आयोजना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले आयोजनाप्रति स्थानीयवासीको अपनत्व बढाउन निर्माणका क्रममा स्थानीयवासीले उठाएका जायज मागलाई सम्बोधन गरिने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि बिजुली आपूर्ति गुणस्तरीय तथा भरपर्दो भएको र यस क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा प्रवाह गर्न पूर्वाधार तयार भएको बताउनुभयो । भारतको विदेश मन्त्रालयका सहसचिव श्रीधरण मधुसुदननले प्रसारण लाइन तथा सबस्टेशनको निर्माण नेपाल र भारतबीचको सहयोग मात्रै नभएर महत्त्वपूर्ण क्षेत्रमा विकास साझेदारी भएको उल्लेख गर्नुभयो । उहाँले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारतको सहयोग र साझेदारीमा निरन्तरता रहने प्रतिबद्धता जनाउनुभयो ।

एक्जिम बैंकका महाप्रबन्धक सरोज कुण्टियाले बैंकले नेपालमा विगत १६/१७ वर्षदेखि सहयोग गरिरहेको उल्लेख गर्दे प्रसारण लाइन र सबस्टेशनको निर्माणले स्थानीय समुदायलाई पनि लाभ दिने बताउनुभयो ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले यस क्षेत्रमा एक सय ४३ मेगावाट बिजुली उत्पादन हुने सम्भावना रहेको बताउँदै आयोजना निर्माणमा स्थानीयवासीको समस्यालाई उचित सम्बोधन गर्न आग्रह गर्नुभयो ।

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ मोदीमा एक सय ३२ केभी स्विचिङ सबस्टेशन, लाहाचोकमा नयाँ सबस्टेशन र लेखनाथ सबस्टेशनको स्विचयार्डमा एक सय ३२ केभी लाइनको बे निर्माण कार्य सम्पन्न भएको छ । सबस्टेशन निर्माणका लागि हिताची इनर्जी लिमिटेड (एबीबी) भारतसँग ठेक्का सम्झौता भएको थियो ।

प्रसारण लाइन निर्माणका लागि कलपत्रु पावर ट्रान्समिसन लिमिटेड भारतसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाअन्तर्गत नयाँ मोदी–लाहाचोक प्रसारण लाइन खण्ड निर्माण सम्पन्न भइ लाइन सञ्चालनमा आइसकेको छ भने लाहाचोक–लेखनाथ खण्ड निर्माणाधीन छ । लाहाचोक–लेखनाथ खण्डमा पर्ने ७५ वटा टावरमध्ये १९ वटाको निर्माण बाँकी छ ।

माच्छापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिको विभिन्न ठाउँका स्थानीयवासीले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै अवरोध गरेका कारण निर्माण प्रभावित भएको छ । प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर रहेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया