१५/१६ घण्टाकाे लाेडशेडिङ हटाएर अहिले बिजुली निर्यात गर्ने अवस्थामा पुग्याैँ : प्रचण्ड

 चैत १६, २०७८ बुधबार १४:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

सबस्टेशन उद्घाटन कार्यक्रममा प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशक्त टिम बनाएर देशबाट लोडशेडिङ अन्त्य गरेको उल्लेख गर्दै अहिले बिजुली निर्यात गर्ने अवस्थामा पुगिएको बताउनुभएकाे छ । चितवनकाे राप्ती नगरपालिका ६ काे हर्दीमा निर्माण भएकाे पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेशनकाे आज बुधवार उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

‘विगतमा दैनिक १५/१६ घण्टाको लोडशेडिङको जटिल र चुनौतीपूर्ण अवस्थामा रहेर प्रताडीत थियौँ तर हामीले लोडशेडिङ आश्चर्यजनक रूपमा हटाएर त्यसलाई इतिहास बनाएका छौँ, अहिले देश लोडशेडिङमुक्त मात्र नभएर खपत गरेर जगेडामा रहेको बिजुली निर्यात गर्ने अवस्थामा पुगेका छौँ’, प्रचण्डले भन्नुभयो, ‘इच्छाशक्तिसहित इमानदारिताका साथ काम गरिएमा असम्भव भनिएको काम गर्न सकिँदो रहेछ भन्ने पुष्टि भएको छ, लोडशेडिङ अन्त्यसँगै चुलोचौका, उद्योग, यातायातलगायतका हरेक क्षेत्रमा बिजुली प्रयोग गर्ने अवस्था सिर्जना भएको छ, यसले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा ठूलो सकारात्मक प्रभाव पारेको छ ।’ 

उहाँले देशका मुख्य सहर तथा औद्योगिक क्षेत्रहरूमा ५० वर्षसम्मको बिजुली मागलाई धान्ने गरी विद्युतीय संरचनाको पूर्वाधार निर्माण गर्न आग्रह गर्नुभयो । चितवनका सङ्घीय सांसदसमेत रहनुभएका प्रचण्डले पूर्वी चितवन सबस्टेशनबाट चैनपुरसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा सहयोग गर्न स्थानीयवासीलाई अनुरोध गर्नुभयो ।  

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन बिजुलीकाे महसुल सस्तो बनाइएको बताउनुभयो । यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशन सञ्चालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त बिजुली पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडशेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको बताउनुभयो ।

याे सबस्टेशनमा १३२/३३ केभी, ३० एमभीए क्षमता र ३३/११ केभी, १६/६ एमभीए क्षमताका एक/एक वटा पावर ट्रान्सफर्मर रहेका छन् । सबस्टेशनबाट ११ केभी फिडरमार्फत राप्ती र खैरहनी नगरपालिकामा बिजुली आपूर्ति भइरहेको छ । यसबाट झन्डै ४० हजार ग्राहक लाभान्वित भएका छन् ।

यस सबस्टेशनबाट चितवनकै पर्सा सबस्टेशनमा जोडी कालिका र रत्ननगर नगरपालिकामा बिजुली आपूर्ति गर्न ३३ केभी नयाँ लाइन निर्माण भइरहेको छ । सबस्टेशनदेखि चैनपुरसम्म निर्माण गर्नुपर्ने साढे आठ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा स्थानीयवासीकाे अवरोध रहेको प्राधिकरणकाे प्रसारण निर्देशनालयका उपकार्यकारी दीर्घायूकुमार श्रेष्ठले बताउनुभयो । उहाँले स्थानीय, जनप्रतिनिधि, प्रशासन लगायतबीच पटक–पटक छलफल गरिए पनि समस्या समाधान हुन नसकेको उल्लेख गर्नुभयो ।  

चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको बिजुली आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन झन्डै ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेशन निर्माण गरिएको हो । मकवानपुरको हेटौँडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको बिजुलीलाई पूर्वी चितवन सबस्टेशनभित्र छिराएर बाहिर निकालिएको छ । हेटौँडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको बिजुलीलाई पूर्वी चितवन सबस्टेशनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ ।

 

सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा पूर्वी चितवन सबस्टेशन निर्माण २०७५ को जेठदेखि सुरु भएको थियो । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया