चुनाव महँगाे भयाे भन्ने अनि यति मात्र खर्च गराैँ भन्दा विराेध गर्न मिल्छ ? : प्रमुख आयुक्त थपलिया

 चैत १७, २०७८ बिहीबार १६:५०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको मत/ अभिमत पैसा र पदले खरिद/बिक्री गर्न सकिँदैन भन्ने मान्यताको आधारमा चुनाव खर्चकाे सीमा ताेकेकाे बताउनुभएकाे छ । आज बिहीवार ललितपुरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा निर्वाचन सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

राजनीतिक दलहरूले चुनाव खर्च महँगो भयो भनेर भन्ने तर त्यसको सीमा तोक्दा विरोध गर्न नमिल्ने प्रमुख आयुक्त थपलियाले तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामी चुनाव महँगो, भड्किलो भयो भन्छौँ अनि चुनाव खर्चको सीमा तोक्दा किन आपत्ति ? चुनाव खर्च धेरै भए लोकतन्त्र नै खतरामा पर्न सक्छ ।’ एउटा अध्यक्षले तीन लाख रुपैयाँ खर्च गरेर आफ्नो गाउँपालिकाभित्र गएर म उम्मेदवार हुँ, मेरो यो सिद्धान्त, निष्ठा, विचार छ भनेर तोकिएको खर्चमा भन्न सक्दैन भने त्यसका लागि यसमा पुनरावलोकन गर्न सकिन्छ ।’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरू कत्तिको प्रतिबद्ध छन् भनेर आयोगले हेर्न चाहेको पनि बताउनुभयाे । उहाँले निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार पनि आयोगले उनीहरूलाई नै दिएको स्पष्ट पार्नुभयो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘अब आयोगले कस्तो अनुगमन गर्छ भन्ने हाेइन । उम्मेदवार र राजनीतिक दलले आफ्नो अनुगमन कस्तो गर्दोरहेछ भनेर चाहिँ आयाेगले हेर्छ । सुशासन र सदाचारको कुरा गर्ने हाम्रा राजनीतिक दल र उम्मेदवारहरू निर्वाचन आचारसंहिताको पालनामा कत्तिको प्रतिबद्ध् छन भनेर हामीले हेर्ने हो । मैले आचारसंहिता मिचेकै हुँ, कारबाही गरिपाउँ भनेर सिफारिस गर्नु भयाे भने त आयाेगले तत्काल कारबाही गर्छ । हामीले सिफारिस गर्ने अधिकार राजनीतिक दलहरूलाई नै दिएका छौँ । आफूलाई कारबाही गर्ने सिफारिस आफैँ गर्नुस्, कारबाहीको भागी आफैँ बन्नुस् । तर म फेरि पनि भन्छु– आयोग कारबाही गर्नुपर्छ भन्ने मान्यता नै राख्दैन ।’

यस्तै कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले चुनाव खर्चिलो भए लोकतन्त्र नै खतरामा पर्ने भन्दै त्यसमा मितव्ययिता अपनाउन राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया