समकक्षी मोदीसँग भेटवार्ताका लागि प्रधानमन्त्री देउवा हैदराबाद हाउसमा

 चैत १९, २०७८ शनिबार ११:५३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ताका लागि दिल्लीमा रहेको हैदराबाद हाउस पुग्नु भएको छ ।  भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले हैदराबाद हाउसमा स्वागत गर्नु भएको छ ।

भेटमा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भनिएको छ । भेटवार्तामा ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

भेटकै क्रममा जनकपुर– जयनगर खण्डमा चल्ने रेलको उद्घाटन पनि हुँदैछ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लाग्नुभएको हो । आज उद्घाटन भएपछि भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो–पालो चलाउने तयारी छ । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले जनाएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको कम्पनीले छ । २०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएकोमा गएको फागुन १ गतेदेखि ‘ड्राई रन’ अर्थात यात्रु नराखी चलाउन थालिएको थियो ।

तीनदिने भारत भ्रमणमा हिजो नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री देउवाले ओहदा बिर्सिएर भाजपा मुख्यालय गएको भन्दै आलोचना भैरहेको छ । नयाँदिल्ली पुगेलगत्तै देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको हो । हिजो नै प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार गर्नुभयो । भ्रमणमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव लगायत छन् । 

हिजो नेपाली राजदूतावासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताउनुभएकाे थियाे ।
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया