एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर माओवादीले सपना नदेखे हुन्छ : उपाध्यक्ष पाैडैल

 चैत २०, २०७८ आइतबार १९:३३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको चुनावमा एमाले एक्लै लड्ने बताउनुभएको छ । उपाध्यक्ष पौडेलले स्थानीय तह चुनावमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो । उहाँले एमाले एक्लै चुनाव लड्ने र ७० प्रतिशत पालिकाहरूमा जित्ने दाबी गर्नुभयाे । ७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशतभन्दा तल भने नझर्ने उहाँकाे दाबी छ । 

आज आइतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपा (माओवादी केन्द्र) लाई चेतावनीसमेत दिनुभयो । उहाँले भन्नुभयो – ‘यो स्थानीय तहको चुनावमा एमाले एक्लै लड्छ । कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने एमालेलाई आवश्यकता छैन । एमालेसँग गठबन्धन गरेर अलिकति स्पेस प्राप्त गर्न सकिएला कि भनेर नसोचे हुन्छ । खासगरी माओवादी केन्द्रतिर लक्षित गरेर म भन्न चाहन्छु, त्यसखालको सपना नदेखे हुन्छ ।’

उपाध्यक्ष पाैडेलले माओवादी केन्द्रसँग तालमेलका लागि कुनै पनि प्रकारको संवाद नभएको स्पष्ट पार्नुभयो । माओवादी केन्द्र र एमालेको बीचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्मालोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाइप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयाे, माओवादी केन्द्रसँग एमालेको कुनै पनि तहका नेता, कार्यकर्ताका बीचमा प्रत्यक्ष वा परोक्ष रूपमा कुनै पनि हिसाबले वार्ता भएको छैन ।एमालेका अध्यक्षले आत्मालोचना गर्नुपर्ने भन्ने हास्यास्पद कुरा हो । कम्युनिस्ट पार्टीको सरकार ढालेर दक्षिणपन्थी गठबन्धन उहाँहरूले बनाइरहनुभएको छ । दुनियाँलाई थाहा छ, हिजो उहाँहरूले कथित जनयुद्ध सुरु गर्दा त्यति बेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । उहाँलाई ४० बुँदे ज्ञापन पत्र बुझाएर उहाँहरूले कथित जनयुद्ध सुरु गर्नुभएको थियो । आज फेरी कम्युनिष्ट पार्टीको सरकार ढालेर शेरबहादुर देउवाजीको नेतृत्वमा उहाँहरूले यो सरकार बनाइरहनुभएको छ र दक्षिणपन्थी गठबन्धन निर्माण गर्नुभएको छ । नेकपा एमाले जनताको पक्षमा, राष्ट्रका पक्षमा दृढतापूर्वक उभिएको छ । आफ्ना कामप्रति एमालेलाई गर्व छ । त्यस कारणले यो आत्मालोचनाका हास्यास्पद कुरा गरिरहनु जरुरी छैन ।’

सत्तारुढ गठबन्धनमा दरार सिर्जना हुँदा एकले अर्कोलाई एमालेसँग मिल्छु भनेर तर्साउने गरेको भन्दै एमाले कसैको भर्‍याङ नबन्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया