प्राकृतिक स्रोत परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेका छाैँ : अर्थमन्त्री

 जेठ २९, २०७९ आइतबार १७:५४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आउँदाे आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेको बताउनुभएकाे छ । आज आइतवार काठमाण्डाैमा आयोजित आ‍ईएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले उत्पादन वृद्धि गरेर निर्यात गरी विदेशी मुद्रा आर्जन गरिने उल्लेख गर्नुभयो । 

मन्त्री शर्माले सेवा निर्यातलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो बजेटले रेमिट्यान्सकाे रूपमा आउने पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन । विशेषरूपमा विदेशी मुद्रा भित्र्याउने महत्त्वकाङ्क्षी लक्ष्य राखेको छ । हामीलाई प्रकृतिले उपलब्ध गराएको वस्तुहरू, प्राकृतिक स्रोतको परिचालन गरेर, तिनको उत्खनन, प्रशोधन, प्याकिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने र त्यसबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य हामीले राखेका छौँ । उत्पादन वृद्धि गरेर निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्ने हाम्रो लक्ष्य रहेको छ ।’

अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्र्याएर तरलतालाई कम गर्दै लगिने पनि बताउनुभयाे । उहाँले केही नीतिगत कुराले पनि तरलतामा असर गरेको भन्दै त्यसमा पनि आवश्यक सुधार गरिने बताउनुभयो । उहाँले नीतिगत सुधार गर्दा व्यवसायीहरूको मागलाई पनि ध्यान दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब हामी विभिन्न क्षेत्रको लगानी भित्र्याउनेछौँ । पूर्वाधार क्षेत्रमा हामी लगानी भित्राउने छौँ । लगानी भित्र्याउने र हामीसँग भएको पुँजीको परिचालन गर्ने कुराबाट तरलतालाई कम गर्दै जान सकिन्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।’

मन्त्री शर्माले श्रमयोग्य जनशक्तिलाई उनीहरूको चाहनाअनुसारको तालिम दिएर योग्य जनशक्ति बनाइने बताउनुभयो । मन्त्री शर्माले व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि उत्पादनमा आधारित कामलाई अगाडि बढाउनुपर्ने र आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया