हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो । सरकारले ल्याएका अन्य ५ वटा अध्यादेशमा भने छलफलका लागि तयार रहेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभएको छ ।
भूमिसम्बन्धी अध्यादेश भूमाफियाहरूको पक्षमा रहेको पनि जसपा नेपालले टिप्पणी गरेको छ । यो अध्यादेशले देशलाई ठूलो क्षति पुर्याउने ठहर गर्दै त्यसलाई स्वीकार गर्न नसकिने निर्णय गरेको प्रथम उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
वन क्षेत्रलाई सङ्कुचन बनाउने गरी वन, राष्ट्रिय निकुञ्ज, आरक्ष वरपरका मध्यवर्ती क्षेत्र, गौचर, हाटघाट र बजार क्षेत्रका जग्गा दिन सकिने अध्यादेशमा व्यवस्था छ । घुमाउरो पारामा वन क्षेत्रको जग्गा सरकारको नाममा ल्याउने, अव्यवस्थित र सुकुम्वासीलाई दिने गरी ल्याइएको अध्यादेशले चुरेको भविष्यमाथि समेत चिन्ता बढाएको भन्दै यसलाई स्वीकार गर्न नसकिने जसपाले जनाएको छ । वास्तविक सुकुम्वासीलाई भन्दा बिचौलियाहरूलाई पोस्ने किसिमले अध्यादेश ल्याइएको जसपा नेपालको निष्कर्ष छ ।
सरकारले संसद् छलेर ६ वटा अध्यादेश ल्याएको छ । प्रतिनिधिसभामा बमुहत पुगे पनि राष्ट्रियसभामा भने सत्ताधारी दलको बहुमत नपुग्ने देखिएको छ । राष्ट्रियसभामा निर्णायक मानिएको जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेसँगै यो अध्यादेश पारित नहुने पक्का भएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका लागि ३० जना सांसद चाहिन्छ । अध्यादेशका पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत १ र लोसपाका १ गरी २८ जना सांसद छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।