युक्रेनलाई थप हतियार उपलब्ध गराउने र ऊर्जा प्रणाली मर्मत गरिदिने नेटोको वाचा

 मंसिर १४, २०७९ बुधबार १०:२१:५५ | एजेन्सी
unn.prixa.net

उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)ले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

रोमानियाको राजधानी बुकारेस्टमा भएको विदेशमन्त्रीहरूको दुई दिने बैठकमा नेटो प्रमुख स्टोलटेनबेर्गले वास्तवमा युद्धको मैदानमा रुस असफल भएको टिप्पणी गर्नुभएको छ । सैन्य सङ्गठनका प्रमुख यान्स स्टोलटेनबेर्गले रुसले युक्रेनमाथि जाडोयामलाई हतियारका रूपमा नै प्रयोग गर्न खोजेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको छ ।

रुसी आक्रमणहरूका कारण लाखौँ युक्रेनी बढ्दो चिसोकाबीच बिजुली र खानेपानीबाट वञ्चित छन् । युक्रेनले नेटो समक्ष महिनौँदेखि परिष्कृत वायु प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ । नागरिक वा उनीहरूको अस्तित्वलाई आवश्यक महत्त्वपूर्ण पूर्वाधारलाई आक्रमण गर्नु युद्ध अपराध मानिन्छ । गएको फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण आक्रमणको आदेश दिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्रेमलिनका अन्य वरिष्ठ अधिकारीहरूले रुसी सेनामाथि लागेको युद्ध अपराधको आरोपबारे खण्डन गर्दै आएका छन् । नेटोले एक विज्ञप्ति समेत निकालेर युक्रेनी नागरिक र ऊर्जा प्रणालीहरूमा रुसको लगातार आक्रमणका कारण लाखौँ मानिसलाई आधारभूत आवश्यकताबाट वञ्चित गरिएको जनाएको छ ।

नेटो सदस्यहरूले युक्रेनलाई यसको ऊर्जा पूर्वाधार मर्मत गर्न र क्षेप्यास्त्र आक्रमणबाट मानिसहरूलाई बचाउन सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबासँगको संयुक्त पत्रकार सम्मेलनमा स्टोलटेनबेर्गले भन्नुभयो,-‘हामी सधैँ युक्रेनको पक्षमा उभिनेछौँ, हामी पछि हट्ने छैनौँ ।’

कुलेबाले नेटोका वरिष्ठ अधिकारीहरूसँगको भेटमा हतियार उपलब्ध गराउनेबारे कुरा भएको जानकारी समेत दिनुभएको छ । इस्टोनियाका विदेशमन्त्री उर्मास रेन्सालुले नेटोले युक्रेनलाई रुसी भूभागमा प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू दिन आवश्यक रहेको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाको नेतृत्वमा रहेको नेटो गठबन्धनले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र र त्यस्ता अन्य हतियारहरू आपूर्ति गर्न बारम्बार टार्दै आएको छ । युक्रेनमा धेरै क्षेत्रहरूमा हिउँ र शून्य तापक्रमसहित चिसो बढ्दो छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया