कतारले ‘स्टेडियम ९७४’ भत्काउन थाल्यो : विश्वकप इतिहासमा नौलो घटना

 पुष ६, २०७९ बुधबार ८:५७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

कतारले विश्वकप फुटबलका लागि बनाएका मध्ये ‘स्टेडियम ९७४’ भत्काउन थालेको छ । विश्वकपका लागि कतारले आठ वटा अत्याधुनिक प्रविधियुक्त रंगशाला बनाएको थियो । पहिलो चरणमा अस्थायी रूपमा निर्माण गरिएको ‘स्टेडियम ९७४’ भत्काउने काम सुरु भएको हो ।

विश्वकप इतिहासमा प्रतियोगितापछि रंगशाला हटाउन लागेको यो नौलो घटना मानिएको छ । ४० हजार दर्शक क्षमताको यो रंगशालामा समूह चरणदेखि सात वटा खेल भएका थिए । पहिलो खेल नोभेम्बर २२ मा मेक्सिको र पोल्याण्डबीच भएको थियो भने अन्तिम खेलमा प्रि–क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाबिच भएको थियो ।  याे रंगशालाकाे निर्माण ९७४ वटा पानीजहाजका कन्टेनर र मोडुलर स्टिलको प्रयोग गरेर बनाइएको छ ।

विश्वकप जस्ता ठूला खेलकुद समारोहको आयोजनापछि रङ्गशालाको प्रयोग कम हुने तर ती संरचनालाई यथावत राख्न ठूलो धनराशीको खर्च हुने भएकाले भत्काउने निर्णय गरिएको हो । आयोजक कतारको एउटा निकाय सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) का अनुसार फिफासँगको समन्वयमा बढी भएका कुर्सीहरू अरु देशलाई अनुदानका रूपमा दिइनेछ । त्यस्तै ४० हजार दर्शक क्षमता रहेको एजुकेसन सिटी रङ्गशालाको पनि २० हजार कुर्सी हटाइनेछ ।

 

विश्वकप फाइनलसहित १० वटा खेलको आयोजना भएको लुसेल रङ्गशाला तथा अल थुमामा र अल यानुवको क्षमता पनि आधा घटाउने तयारी छ । टेन्टको आकारमा बनाइएको अल बैत रङ्गशाला ६० हजार दर्शक क्षमताको छ । त्यसको पनि माथिल्लो तलाको भाग निकालिनेछ । पश्चिम दोहाका अहमद विन अलि रङ्गशालालाई कतार स्टार्स लिग (क्यूएसएल) फुटबल क्लबलाई घरेलु मैदानको रूपमा प्रयोग गर्न दिइनेछ ।

कतारको पुरानो मैदान खलिफालाई क्षमता बढाएर ४० हजार दर्शकको बनाइएको थियो । त्यहाँ ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने रङ्शालाका निर्देशक अहमद अल थानीले बताउनुभएको छ । कतारमा भएको विश्वकप फुटबलको फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जितेको छ ।
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया