ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
कास्की – गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, त्याे परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन् । खोलिएको विज्ञापनमा पनि ४ सयजनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो ।
त्यसमा पनि शिक्षक सेवा आयोग पास गरेका केहीले लोकसेवामा नाम निकाल्दै नियुक्ति पत्र लिनै आएनन् । आखिर किन यस्तो भइरहेको छ त ? शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको टिप्पणी छ, ‘नेपालमा शिक्षण पेशाप्रति बढ्दै गएको वितृष्णा र अरुचि ।’
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करणमा भएको ‘दुर्गमका सर–मिस’ विषयक सत्रमा नेपालको दुर्गम क्षेत्रको शैक्षिक अवस्थाबारे अन्तरंग कुराकानी भएको थियो । दाहालले सहजीकरण गरेको त्यस सत्रमा वक्ताका रुपमा पमा गुञ्जनसँगै मोइन उद्दिन र मिङ्मा तेञ्जिङ केसी सहभागी हुनुहुन्थ्याे ।
उनीहरुले आफूहरुले नेपालका विभिन्न दुर्गम ठाउँका विद्यालयमा पढाउँदा भोगेका अनुभव र त्यसको सुधारका लागि गर्न सकिने सुधारबारे आफ्नो दृष्टिकोण राखे । उनीहरु तीनै जनाले सरकारी दरबन्दीका शिक्षकले बालबालिकाको पढाइमा गम्भीर नरहेको सुनाए ।
‘शिक्षक सेवा आयोगमा निकालेकाहरु पनि लोकसेवामा खरदार नासुमा गइरहेको भेटिएका छन् । टिचिङ धेरैको सोचाइमा छैन । नयाँ पुस्तालाई शिक्षणमा कसरी आकर्षित गर्ने ?’ दाहाल प्रश्न गर्नुहुन्छ।
तीन वटै वक्ताको एकै उत्तर थियो, ‘शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन सरकारी नीतिगत तहबाटै सुधार हुनुपर्छ । प्रधानाध्यापक, स्थानीय तह र अभिभावक पनि उत्तिकै जिम्मेवारी हुनुपर्छ ।’ उनीहरुले सरकारी शिक्षकमा मेहनतकै कमी भएको धारणा राखे ।
कुनै एउटा शिक्षकले विद्यार्थीको चाहना र मनोविज्ञानलाई अध्ययन गरेर पढाउन सकेमात्रै त्याे सिकाइ सफल हुने तेञ्जिङको भनाइ छ । ‘शिक्षक समाज बुझेको हुनुपर्छ र आफूले भागेका अनुभवलाई बाँड्न सक्ने हुनुपर्छ । ५ वटा औंला त समान छैनन्, विद्यार्थीको रुचि पनि एउटै छैन भन्ने बुझ्नुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘एउटा टिचरले विद्यार्थीको इन्ट्रेस्ट थाहा हुनुपर्छ ।’
विद्यार्थीलाई उच्च शिक्षापछि मात्रै इन्टर्नसिप गराउने चलन रहेकाले अब ६ कक्षाबाट त्याे अभ्यास थाल्नुपर्ने तेञ्जिङको सुझाव छ । साहित्यदेखि खेलकुद, व्यापार, व्यवसायमा सानैदेखि इन्टर्नसिप गराएमा उनीहरुले आफ्नो रुचि पहिचान गर्न सिक्ने र भविष्यमा के बन्नेबारे उनीहरु आफैंले थाहा पाउन सक्ने उहाँको भनाइ थियो ।
वक्ता मोइन उद्दिनले सबै विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै ‘एक्स्पोजर ट्रिप’मा लैजान सके त्याे सिकाइ प्रभावकारी हुने विचार राख्नुभयाे । उहाँले आफूले पढाएका ठाउँमा त्याे उपाय धेरै प्रभावकारी देखिएकाले पनि समाज बुझ्न धेरै काम लागेको बताउनुभयाे ।
‘अर्को कुरा अब तराईको विद्यार्थी हिमालमा, हिमालको विद्यार्थी तराईमा गएर पढा्स् भन्ने चाहन्छु,’ मोइनले अबको आफ्नो सपना सुनाउँदै भन्नुभयाे, ‘कम्तिमा साना विद्यार्थीले जीवन जगत, समाज, क्लचर बुझन पाउनुहुन्छ । भेदचाव पनि कम हुन्थ्यो । यसरी कुराकानी गर्दा सबै एउटै मान्छे रहेछ भन्ने उनीहरु महसुस गर्न पाउँछन् ।’
२०१८ मा पहिलोपल्ट नेपालको दुर्गम जिल्ला डोल्पामा पढाउन पुगेकी झापाकी झापाकी गुञ्जन लुइँटेलले त्यहाँ सरकारी शिक्षक भेट्नै नपाएको सुनाउनुभयाे । एक शैक्षिक वर्षमा एकाधबाहेक त्यहाँ दरबन्दी पाएर गएका शिक्षकको दर्शनसमेत पाइनन्, बातचितको मौका त परै जाओस् !
‘डोल्पामा म गएको सरकारी स्कुलमा टिचर भेट्नै पाइनँ । हुनुहुन्छ भन्ने सुनें मात्रै,’ लुइँटेलले दुर्गमका विद्यालयका शैक्षिक अवस्थाबारे सुनाउनुभयाे, ‘एकजना शिक्षक आउनुभयो केही समय बसेर फर्किहाल्नुभयो । भेट्नै पाइनँ । उहाँहरु पढाउन इच्छुक हुनुहुन्थेनजस्तो लाग्यो ।’ दरबन्दीमा गएका त्यहाँका शिक्षक किन पढाउन अनिच्छुक भए भन्नबारे आफूले भेउ नै पाउन नसकेको सुनाउनुभयाे ।
‘टिच फर नेपाल’ नामक संस्थाबाट डोल्पामै पढाउन पुगेका मोइन उद्दिनले पनि त्यही परिस्थिति भोग्नुपर्याे । शिक्षकहरु सदरमुकामसम्म पुग्ने तर, विद्यार्थीसम्म कहिल्यै नपुग्ने आफैंले अनुभव गरेर फर्किए । ‘एउटा शैक्षिक वर्षमा त्यहाँ पढाइ हुने भनेको ७ महिना नै हो । तर, उहाँहरु सदरमुकाममै बसेर हाजिर गरेर तलब लिएर जाने धेरै देखें,’ उहाँले भन्नुभयाे, ‘विद्यार्थीसम्म पुगेको भेटिनँ ।’
काठमाण्डाैको सम्पन्नशाली निजी विद्यालयमा पढ्नुभएका मिङ्मा तेञ्जिङ केसी पनि २०१८ मा पहिलोपल्ट टिच फर नेपालबाटै सिन्धुपाल्चोक भोटेनाम्लाङ पढाउन जानुभएकाे थियाे । त्यही पहिलो अनुभवले नै सधैं बालबालिकासँग जोडिइरहन प्रेरणा दियो ।
‘संयोगवश काठमाण्डौमा राम्रो बोर्डिङ स्कुलमा पढ्न पाएँ । भोटेनामलाङमा पहिलो अनुभव थियो,’ तेञ्जिङले आफ्नो अनुभव बाँड्नुभयाे, ‘त्यहाँका विद्यार्थी कोही चप्पलमा आउने, नांगै आइदिने, भाइबैनी बोकेर आउने भेटिए । कोहीकोही त गाईबाख्रा चराएर बस्नुहुन्थ्यो ।’
गाउँमा शिक्षक भए पनि बाध्यताकै भूमरीमा फसेका तेञ्जिङले त्यही अनुभव गर्नुभयाे । राम्रो गर्ने प्रयास गर्दागर्दै पनि पनि असफल बनेका ‘मास्टर’लाई उहाँले त्यहीं भेट्नुभयाे । ‘केही टिचरहरु प्रयास त गर्नुहुन्थ्यो । तर, आफ्नै गाउँठाउँ र समाज भएकाले उहाँहरुको आफ्नै बाध्यता पनि थियो,’ उहाँले सुनाउनुभयाे, ‘त्यो अनुभव त्यो सिटीमा हुन्थेन ।’
सुरुमा अंग्रेजी शिक्षक भएर सिन्धुपाल्चोक पुग्नुभएका तेञ्जिङले त्यहाँको आवश्यकता केवल शिक्षकमात्रै नभएको बुझनुभयाे । ‘त्यहाँ मैले अंग्रेजीबाहेक धेरै संगीत, खेलकुद पनि सिकाएँ । त्यहाँका महिलाहरुलाई फुटबल सिकाएँ । टुर्नामेन्ट पनि गर्न सफल भएँ,’ उहाँले भन्नुभयाे, ‘पहिलो पटक केटीहरुमात्रै खेल्न बाहिर जान पाए ।’
पहिलोपटक सिन्धुपाल्चोकमा स्वयंसेवक शिक्षकका रुपमा नगए पनि त्यहाँको शैक्षिक अवस्था हेरेर आफूले पनि पढाउन थालेको बताउनुहुन्छ, मोइन उद्दिन । सपनाविहीन विद्यार्थीलाई शिक्षासँगै सपनाको जग बसाल्न पनि आफूले पढाउन सुरु गरेको उहाँको भनाइ छ ।
‘सिन्धुलाल्चोलक टिचर हुन गएको होइन । तर, त्यहाँ गएसकेपछि बालबालिकासँग माया बस्यो,’ आफूले स्वयंसेवक शिक्षण सुरुगर्दाताकाका सुरुआती दिन सम्झिनुभयाे, ‘त्यहाँका विद्यार्थीलाई सपना देखाउन सकिन्छ । सपना देखाउनमात्रै पूरा गराउन पनि सकिन्छ भन्ने थाहा पाएँ ।’
उहाँले त्यहाँका दुर्गमका बालबालिकालाई सपना सफल पार्न सकिन्छ भन्ने उदारहरण प्रयोगात्मक रुपमै देखाउन काठमाण्डौका विभिन्न ठाउँमा पनि ‘एक्स्पोजर ट्रिप’ गरेको सुनाउनुभयाे । त्यतिबेला उहाँले काठमाण्डौका बैंक, मिडिया, अस्पताल, थियटर सबैमा सानासाना विद्यार्थीलाई प्रत्यक्ष अवलोकन गराउन ल्याउनुभयाे । त्यसबारे भन्नुहुन्छ, ‘भविष्य केके छ, कसरी सफल भइन्छ भनेर रियल मान्छेलाई नै भेट्टाएँ । त्यो एकदमै सफल भएको थियो ।’
स्वयंसेवी शिक्षिका गुञ्जनले नेपालका कुनाकन्दरामा पुग्दापुग्दै गुञ्जन मिसको परिचय बनाउनुभएकाे छ । उहाँले नेपालका थुप्रै जिल्लामा पढाउन पुगे पनि आफूलाई ‘कर्णालीकी गुञ्जन मिस’कै रुपमा बढी चिनिएको सुनाउनुभयाे । ‘पढाउन गएको माया गर्न सिकेर आएँ । समाज, भूगोल र संस्कृति आफैंले सिक्न पाएँ,’ उहाँले खुसी हुँदै भन्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
हरि प्रसाद खनाल
Dec. 29, 2022, 6:27 a.m.नेपाली मिडियाले प्राय: यस्तै अपूर्ण लेखहरु प्रकाशन गर्ने गरेको भेटेको छु। १) "दरबन्दीमा गएका त्यहाँका शिक्षक किन पढाउन अनिच्छुक भए भन्नबारे आफूले भेउ नै पाउन नसकेको सुनाउनुभयाे ।" शिक्षकलाई दोषी देखाएर छोडियो। या कारण र समाधान दिनुपर्यो, होईन भने विषयवस्तु उठाएर मात्र छोडीदिँदा समाजले शिक्षकलाई थप दोषी देख्नुका साथै अवहेलना पनि गर्छ। २) " ‘केही टिचरहरु प्रयास त गर्नुहुन्थ्यो । तर, आफ्नै गाउँठाउँ र समाज भएकाले उहाँहरुको आफ्नै बाध्यता पनि थियो,’ उहाँले सुनाउनुभयाे, ‘त्यो अनुभव त्यो सिटीमा हुन्थेन ।’ के के प्रयास गर्नु भयो? के कारणले असफल हुनु भयो? वा कुन हद सम्म सफल हुनु भयो? उहाँहरु लगायत अन्यलाई कसरी प्रेरित गर्ने? शिर्षक अनुसन्धानात्मक राख्ने तर लेखक ले अनुसन्धान गरेको खै? म पनि एक शिक्षक नै हुँ। आफूलाई परिष्कृत गर्न सकिन्छ कि भनेर यस्ता सामाग्री पढ्न खोज्छु तर खासै ठोस कुरा भेट्दिन।