एनपीएलको लागि टिकट मूल्य, तीन सयदेखि एक हजार रुपैयाँसम्म
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – नेपाल उद्योग परिसङ्घले नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ टोलीले आज बुधवार गृह मन्त्रालयमा मन्त्री लामिछानेलाई भेट गरी बधाई तथा शुभकामना दिँदै उद्योगी व्यवसायीको समस्या, सीमा क्षेत्रमा भइरहेको अवैध कारोबारलगायतका विषयमा जानकारी गराएको छ ।
परिसङ्घका अध्यक्ष अग्रवालले मागमा आएको उच्च सङ्कुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावजस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताउनुभयो । केहीबाहेक धेरैजसो वस्तुको मागमा ३० देखि ७० प्रतिशतसम्म कमी आउँदा उद्योगी व्यवसायी आत्तिइरहेको उहाँले बताउनुभयो ।
सरकारले विदेशी मुद्रा सञ्चिति बढाउन आयातमा कडाइ गर्याे । आयातमा कडाइ हुँदा पनि अटोमोबाइलबाहेक अन्य वस्तुहरू बजारमा उपलब्ध भइरहेका छन् । देशमा अवैध कारोबार बढिरहेको वास्तविकता यो अवस्थाले समेत पुष्टि गरेकाले यसलाई रोक्न गृह मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो । अवैध कारोबारका कारण स्वदेशी वस्तुको माग घटिरहेको, स्वदेशी वस्तुको प्रतिस्पर्धी क्षमता घटेको, सरकारले पनि राजस्व गुमाइरहेको र उद्योगी हतोत्साही भइरहेको उहाँले बताउनुभयो । यस्तै विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोत पर्यटन पनि भएकाले ५० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने सुझाव उहाँले दिनुभयो । ५० लाख पर्यटक भित्र्याउन र पर्यटकलाई आकर्षित गर्न नेपालमा पनि ई–भिसाको अवधारणा ल्याउनुपर्ने उहाँको सुझाव छ ।
परिसङ्घले मेक इन नेपाल स्वदेशी अभियानको सुझावअन्तर्गत सुरक्षा निकाय एवम् सार्वजनिक क्षेत्रका कर्मचारीको पोसाकमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
अध्यक्ष अग्रवालले देशको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको 'Rebooting Nepalese Economy' अवधारणा गृहमन्त्री समक्ष पनि पेस गर्नुभयो । परिसङ्घले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता सङ्कट तथा उच्च ब्याजदर), औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ ।
परिसङ्घले यसअघि मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेट गरी अर्थतन्त्र सुधारसम्बन्धी परिसङ्घको सुझाव पेस गरेको थियो ।
भेटमा गृहमन्त्री लामिछानेले देशको अर्थतन्त्र सङ्कटोन्मुख रहेको भन्दै सुधारका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारीरूपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उद्योगी व्यवसायीको समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने कामलाई सधैँ उच्च प्राथमिकतामा राख्ने पनि बताउनुभयो । ‘व्यापार, व्यवसाय, उद्योग, वाणिज्य क्षेत्रका साथीहरूलाई मन्त्रालयमा रातो कार्पेट बिच्छ्याउने छौँ । उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध छौँ । उद्योगी व्यवसायी राष्ट्रको मेरुदण्ड हुन् । उहाँहरू हल्लिनुभयो भने देशको अर्थतन्त्र पनि हल्लिन्छ र हामीले केही पनि गर्न सक्दैनौँ भन्नेमा हामी स्पष्ट छौँ । त्यहीअनुसार मन्त्रालयले गर्नुपर्ने जिम्मेवारी पूर्णरूपमा गर्नेछ’, उहाँले भन्नुभयो ।
मन्त्री लामिछानेले स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्नेमा पनि जोड दिनुभयो । ‘मैले स्वदेशी वस्तुमात्रै लगाउने भनेको छु, सुरु पनि गरिसकेको छु । स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको छु’, उहाँले भन्नुभयो ।
नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेलाई परिसङ्घका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, परिसङ्घ जिल्ला तथा प्रदेश समन्व समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, बाग्मती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष भेषराज दुवाडी, परिसङ्घका महानिर्देशक दीपकराज जोशीले पनि बधाई तथा शुभकामना दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।