गाईभैँसीमा फैलिँदै 'लम्पी स्किन', भुसुना, किर्ना र लामखुट्टेकाे टाेकाइबाट जाेगाउन आग्रह

 चैत ३०, २०७९ बिहीबार ७:२५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गाई/भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग थप फैलने जोखिम बढेको छ । रोगको महामारी फैलिएपछि किसान चिन्तित भएका छन् । चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा फैलिएको रोगको प्रभावकारी उपचार हुन सकेको छैन । कतै/कतै पशुचौपाया मर्न थालेका छन् ।

पालिका तथा कृषि ज्ञान केन्द्रबाट लम्पी स्किन रोगको प्रभावकारी उपचारविधि पाउन नसकेको किसानको गुनासो छ । विगतमा फाट्टफुट्ट मात्रै पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण यसवर्ष थप फैलिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनालका अनुसार गाई/भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने गर्छ ।

लम्पी स्किन रोग नियन्त्रणका लागि अहिलेसम्म ठोस उपचार र भ्याक्सिन विकास नभएकाले रोगको लक्षण अनुसार उपचार हुँदै आएको विज्ञको भनाइ छ । रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वरेन्टिन गरी उपचार गर्न पशु सेवा विभागका उपमहानिर्देशक एवम् पशुपक्षी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाका प्रमुख डा.वरुणकुमार शर्माको सुझाव छ ।

रोग लागेका पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठको सरसफाइ गरी किराको टोकाइबाट जोगाउन पनि उहाँको आग्रह छ । रोग लागेका क्षेत्रका पालिकाले लम्पी स्किन सार्ने झिँगा, लामखुट्टे र किर्ना मार्ने विषादी वितरण गर्न थालेका छन् ।

विज्ञका अनुसार लामखुट्टे, भुसुना, झिँगाकाे टोकाइबाट गाईभैँसीमा लम्पी स्किन सर्ने गरेको छ । भारत तथा चीनमा सन् २०१९ मा देखिएको रोग नेपालमा मोरङ हुँदै भित्रिएको थियो । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया