भक्तपुरमा आज जिब्रो छेड्ने जात्रा : २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाउँदै

 वैशाख २, २०८० शनिबार ७:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइँदैछ ।

विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै हुनुहुन्छ ।  युवाहरूले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको श्रेष्ठले बताउनुभयो ।

नवौँ पटक जिब्राे छेडेका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेडाउने हुनुभएको हो । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । तर यसवर्ष बुद्धकृष्णका कान्छा छोराले पहिलो पटक जिब्रो छेड्दै हुनुहुन्छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघि देखि नै केही नखाइ व्रत बस्नुपर्ने नियम छ । जिब्राे छेड्ने व्यक्तिले महादीप बोकेर नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ ।

यसैबीच मध्यपुरथिमि क्षेत्रमै आज ३२ खटसहितको सिन्दुर जात्रा मनाइँदैछ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।

थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजाको तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया