पदबहाली गर्दै महासङ्घका अध्यक्षकाे प्रतिबद्धता– ‘सरकार र निजी क्षेत्रबीचकाे साझेदारी बढाउन पहल गर्छु’

 वैशाख ३, २०८० आइतबार १३:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले पदबहाली गर्नुभएको छ । आज आइतवार टेकुमा रहेकाे महासङ्घको केन्द्रीय कार्यालयमा ढकालले अध्यक्ष पदको पदबहाली गर्नुभएको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्ष रहनुभएका ढकाल महासङ्घको विधानअनुसार स्वतः अध्यक्ष हुनुभएको हो । ढकालले गएकाे बिहीवार निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । ढकालले बिहीवार नै पद तथा गोपनीयताको शपथ लिनु भए पनि आजमात्रै अध्यक्षको पदबहाली गर्नुभएको हो ।

पदबहाली गर्दै अध्यक्ष ढकालले सानो व्यवसायीले पनि महासङ्घको नेतृत्व गर्नसक्छ भन्ने उदाहरण आफैँ भएको बताउनुभयो । उहाँले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रूपमा काम गर्दा सफल हुने बताउनुभयो । उहाँले वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउन पहल गर्ने बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रबीच साझेदारी गर्‍याे भनेमात्रै व्यावसायिक गतिविधि बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने प्रतिबद्धता जनाउनुभयो । नागरिक र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै व्यवसायीलाई हर्ने दृष्टिकोण सकारात्मक बनाउने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘देशमा आर्थिक सङ्कट देखिएकाे छ । अर्थतन्त्रको समस्याको समाधान कसरी गर्ने, कसरी सङ्कटबाट बाहिर आउने भन्ने विषयमा सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु ।सरकार र निजी क्षेत्रबीच साझेदारी भयाे भनेमात्रै व्यावसायिक गतिविधिहरू बढ्छ । सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउन महासङ्घको अध्यक्षको हैसियतले पहल गर्नेछु । नेपालमा प्रत्येक वर्ष पाँच लाख जनशक्ति बाहिर आइरहेको छ । त्यो जनशक्तिमध्ये धेरै वैदेशिक रोजगारीका लागि जाने गरेको छ । महासङ्घले नेपालमा बस्ने र बाहिर जाने जनशक्तिलाई लगानीकर्ता तथा सरकारसँग सहकार्य गरेर दक्ष बनाउनेछ । निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोण परिवर्तन गर्नेछु ।’

त्यस्तै महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका पाँच वटा प्रतिबद्धतामा साथ दिएर अगाडि बढ्ने जनाउनुभयो । उहाँले ढकालले महासङ्घको नेतृत्व लिँदै गर्दा लिएका उद्देश्य पूरा गर्न सबैभन्दा नजिकको सहयोग बनेर सहयोग गर्ने बताउनुभयो । अनुभवी र सानो व्यवसायबाट ठूलो व्यावसायिक समूहमा पुगेको अनुभवले महासङ्घलाई नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

गाेल्छाले महासङ्घका आएको नयाँ टिमले अब देशको अर्थतन्त्र कसरी माथि लैजाने भनेर काम गर्ने विश्वास रहेको बताउनुभयो । उहाँले ढकालको नेतृत्वको टिम महासङ्घमा सफल हुने पनि बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया