पालिकाहरूले लिन थाले श्रम स्वीकृतिको आवेदन, श्रम कार्यालय धाउन नपर्ने

 वैशाख ५, २०८० मंगलबार १७:२३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति र बिदामा आएकाहरूका लागि श्रम स्वीकृति नवीकरणको आवेदन पालिकाहरूले लिन थालेका छन् ।

सात सय ५३ वटै पालिकामा रहेका रोजगार सेवा केन्द्रहरूले यही वैशाख १ गतेदेखि नै श्रम स्वीकृतिको आवेदन भरिदिन थालेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

अनलाइनबाटै श्रम स्वीकृतिको आवेदन दिन पर्ने र श्रम स्वीकृति पनि अनलाइनमार्फत नै पाइने व्यवस्था लागू भए पनि अनलाइन प्रणालीकै नाममा बिचौलियाहरूले ठगी गर्न थालेपछि त्यसको अन्त्यका लागि यस्तो व्यवस्था लागू गरिएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

पालिकाहरूमा रहेका रोजगार सेवा केन्द्रले निःशुल्क अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन भरिदिन्छन् । राहदानी, करार सम्झौता, भिसा लगायतका कागजपत्रसहित आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएपछि श्रम स्वीकृतिको आवेदन दिन पाइन्छ ।

श्रम स्वीकृति लिनकै लागि काठमाण्डौ धाउने वा श्रम तथा रोजगार कार्यालयमा गएर लाइन लाग्नु पर्दैन ।

‘वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ दिदीबहिनीलाई सेवा लिन अप्ठेरो र झन्झट भयो, टाढा जानु पर्‍यो भन्ने गुनासोका साथै श्रम स्वीकृति लिनकै लागि ठगिएको गुनासो हामीले पाइरहेका थियौँ’ श्रम सचिव अर्यालले भन्नुभयो ‘त्यस्तो ठगी र असहजताको अन्त्यका लागि यो व्यवस्था गरिएको हो, बिस्तारै वैदेशिक रोजगारी सम्बन्धी सबै कामहरु पालिकाबाटै हुने गरीको व्यवस्था गर्छौँ ।’

रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजक, रोजगार सहायक लगायत कर्मचारीलाई कसरी श्रम स्वीकृतिको सेवा प्रदान गर्ने भनेर तालिम पनि दिइसहेको सचिव अर्यालले बताउनुभयो ।

अनलाइनमार्फत नै वैदेशिक रोजगार कार्यालय काठमाण्डौ र सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले प्रदान गर्दै आएको श्रम स्वीकृतिको आवेदन रोजगार सेवा केन्द्रमार्फत नै दिन मिल्ने गरी गएको चैत २६ गते मन्त्रीस्तरीय निर्णय भएको थियो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया