कोटेश्वरतर्फको धावनमार्गको किनारमा मरेको चरा भेटियो, तर आलो रगत नदेखिएकाले चरा पहिले नै मरेको हुन सक्ने आशङ्का

 वैशाख १२, २०८० मंगलबार ११:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - त्रिभुवन विमानस्थल धावनमार्ग जाँच गर्ने क्रममा मरेको चरा भेटिएको छ । विमानस्थलको कोटेश्वरतर्फको धावनमार्गमा एउटा मरेको चरा भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले उज्यालोलाई जानकारी दिनुभयो । तर, चरा सुकेको अवस्था भेटिएकाले फ्लाई दुबईको विमानमा ठोक्किएको हुन सक्नेमा आशङ्का रहेको उहाँले बताउनुभयो ।

‘गएराति धावनमार्ग जाँच गर्ने क्रममा एउटा गौथली जस्तो देखिने चरा भेटिएको छ, तर त्यहाँ आलो रगत छैन । चरा क्षतविक्षत अवस्थामा पनि छैन । सुकेको अवस्थामा रहेकाले पहिले नै मरेको हुन सक्छ’, भुलले भन्नुभयो– ‘यसबारे हामीले फ्लाई दुबईलाई पनि जानकारी गराएका छौँ, विमानको इन्जिनमा आगो लाग्नुको कारण यही भन्ने यकिन भएको छैन ।’

काठमाण्डौ विमानस्थलबाट टेक अफ गर्ने बित्तिकै इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति सुरक्षित अवतरण भएको छ । नेपाली समय अनुसार राति २ बजे (स्थानीय समय राति १२ बजेर ११ मिनेटमा) विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  

विमान दुबईमा अवरण गरेकाले अब दुबईकै नागरिक उड्डयन प्राधिकरणले घटनाको बारेमा छानबिन गर्ने उहाँले बताउनुभयो । 'विमान त्रिभुवन विमानस्थलमा नै फर्किएर आएको भए हामीले अनुसन्धान गर्थ्याैँ, उतै गएकाले अब दुबईमै छानबिन हुन्छ' नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो । उहाँका अनुसार छानबिन सकेपछि दुबईले नेपाललाई रिपोर्ट पठाउने छ।

फ्लाई दुबईको बोइङ ७३७ विमान हिजो राति ९ बजेर १९ मिनेटमा उडेको थियो । ९ बजेर २० मिनेटमा नै पाइलटले इन्जिनमा समस्या आएको भन्दै सिङ्गज इन्जिनले मात्रै काम गरिरहेको जानकारी विमानस्थल टावरलाई गराएका थिए । लगत्तै इन्जिनमा आगोको झिल्कोसहित पड्किएको ठूलाे आवाज बाहिरै सुनिएको थियो । 

त्यस पछि पाइलटले धादिङको धार्केमाथिको आकाशमा १० मिनेट विमान होल्ड गराए । त्यतिबेलासम्म त्रिभुवन विमानस्थलमा विमानलाई आकस्मिक अवतरण गराउने तयारी स्वरुप अन्य उडान अवतरण बन्द गरिएको थियो । 

विमानस्थल कार्यालयले आकस्मिक अवतरणको तयारी भएको जानकारी गराउँदा पाइलटले विमानको दुवै इन्जिन राम्रो अवस्थामा देखिएको भन्दै  गन्तव्यतर्फ नै जाने जवाफ दिएका थिए । पाइलटले अवस्था सामान्य भएको बताए पछि राति ९ बजेर  ५९ बजे त्रिभुवन विमानस्थल अन्य वायु सेवाका लागि खुलाइएको थियो । 

नियम अनुसार कुनै समस्या देखिए पछि विमानस्थलको धावनमार्ग जाँच गरेर मात्रै विमानस्थल खुलाउनु पर्छ । त्यसैले विमानस्थल खुलाउँदा ९ बजेर ५९ मिनेट भएको कार्यालयले जनाएको छ । फ्लाई दुबईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ । तर, यकिन कारण खुलेको छैन । विमानमा १६८ जना यात्रु र चालक दलका सात सदस्यसहित १७५  जना थिए ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया