देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवर्द्धन कार्यक्रम ल्याएको छ । लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुर्याउने लक्ष्यकासाथ नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम ल्याएको हो ।
गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवर्द्धन कार्यक्रम अघि सारिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताउनुभयाे ।
आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकाले व्यावसायिक रुपमा गहत खेतीका लागि इच्छुक कृषक, निजी उद्यमी र फर्मलाई हप्ता दिनभित्र आवेदन दिन वैशाख १९ गते प्रथम पटक सूचना प्रकाशित गरेको छ।
गहतको बिउ भएका किसानले स्वतः गहत उत्पादन गर्न सक्ने र बिउ नभएका किसानलाई आवश्यक बिउ उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । उत्पादित गहतको मूल्य निर्धारण गरेर नगरपालिकाले बजारको सुनिश्चितता गरिदिने मेयर राईले बताउनु भयाे । नगरपालिकाको ११ वडामध्ये सबैजसो वडामा गहत खेती हुने गरेको छ ।
त्रि–धार्मिकस्थल हलेसीमा आएर फर्कने विभिन्न ठाउँका दर्शनार्थी एवम् पर्यटकले ‘कोसेली’का रुपमा लैजान पाउनेगरी गहत खेती प्रवर्द्धनको कार्यक्रम ल्याइएको हो । नगरपालिकामा गहतको व्यावसायिक खेतीको प्रचुर सम्भावना छ ।
नगरमा उत्पादित गहत जिल्ला बाहेक छिमेकी जिल्लाका हाट बजारमा समेत पुग्ने गरेको छ । ‘रैथाने बाली गहत लोपोन्मुख बनिसकेको छ । अहिलेसम्म किसानलाई गहतको मूल्य र महत्त्व बुझाउन सकिएको छैन । गाउँघरमा चामलसँग गहत साट्ने चलन छ,’ मेयर राईले भन्नुभयाे, ‘अब इच्छुक किसानलाई गहतको बिउ उपलब्ध गराउँछौँ । उत्पादित गहतको मूल्य निर्धारण गरेर बजारीकरणको व्यवस्था मिलाउने योजना बनाएका छौँ । गहतलाई हलेसीको कोसेलीका रुपमा स्थापित गर्ने योजना छ ।’ नगरमा उत्पादित गहत सङ्कलनका लागि बिक्रेता सूचीकृत गर्ने नगरपालिकाको योजना छ ।
गएकाे असारमा सम्पन्न ११औँ नगरसभाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम सम्बन्धी निती तथा कार्यक्रम पास गरेको थियो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटार लगायतका ठाउँका किसानले गहत खेती गर्दैआएका छन् । अहिले गाउँघरमा गहत दालको रुपमा उपयोग हुने गरेको छ ।
नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत बदाम, कागुनो र जुनेलो खेती गर्ने किसानलाई पनि बिउका लागि आवेदन दिन आह्वान गरेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।