१६ वर्षीया चिनियाँ युवतीले सगरमाथा चढिन्

 जेठ ३, २०८० बुधबार १७:५५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले सफलता प्राप्त गरेकी छिन् । चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमवार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट आरोहण गरेकी हुन् ।

नेपाल बिग माउन्टेन ट्राभलले आज बुधवार पत्रकार सम्मेलन गरी चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेकाे जानकारी दिएको हो । नेपाल बिग माउन्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सुदर्शन नेपालले जानकारी दिनुभयो । उनी महिलामा अहिलेसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ । 

शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट आरोहण गरेकाे सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताइन् ।

शुई चो युआनले आरोहणका क्रममा सुरुमा मौसम खराबीले केही चुनौतीको सामना गर्नुपरे पनि आरोहणको दिन भने मौसमले साथ दिएको अनुभव सुनाइन् । उनले आरोहणका क्रममा सहयोगी शेर्पाहरूले सहयोग गरेकाेमा धन्यवाद पनि दिइन् । सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेको जस्तो देखिएको बताउँदै उनले आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान आफूहरूले सँगै फिर्ता ल्याएको जानकारीसमेत गराइन् ।

नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार १६ वर्षमुनिका व्यक्तिलाई सगरमाथा आरोहणको अनुमति दिने कानुनी प्रावधान छैन । यस वर्ष सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदैछ भने यस वर्ष सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन् । यस वर्षको आरोहण गएकाे शनिवारदेखि सुरु भएको हो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया