बाग्मतीलाई हराउँदै पुलिस क्लब एन्फा महिला लिगको दोस्रो 'क्वालि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डौ – अहिले उत्पादन भएका काउली, साग, मुलालगायतका तरकारीको भाउ नपाएको किसानको गुनासो छ । दुःख गरेर उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाएपछि कतिपय किसानले गाईवस्तुलाई खुवाउन थालेका छन् । कतिपयले बारीमा फालेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–२४ का एक किसानले १० कठ्ठामा लगाएको काउली बारीमा ट्याक्टरले जोतेका छन् । काउली किलोको पाँच रुपैयाँ पनि पर्न मुश्किल भएपछि लगानीसमेत नउठेको किसानले गुनासो गर्दै आएका छन् ।
गएको वर्ष पनि किसानले भाउ नपाएको भन्दै सडकमै गोलभेँडा फालेका थिए । काउली, बन्दा, गोलभेँडा, साग, मुलालगायतका तरकारीले भाउ नपाएको भन्दै बेलाबेला किसानले यसैगरी नष्ट गर्ने गरेका छन् । किसानले भाउ नपाए पनि उपभोक्ताले महँगो मूल्य तिरेर खानुपर्ने अर्को अवस्था छ ।
अहिले उत्पादन भइरहेका तरकारीलाई खेर फाल्नुभन्दा प्रशोधन र संरक्षण गरी राख्न सकिने कृषि विज्ञहरू बताउँछन् । अहिले किसानले भाउ नपाएको काउलीसहित साग, मूलालाई कसरी पछिसम्म सदुपयोग गर्न सकिन्छ त ? तरकारी बालीका विज्ञ डा. नविनगोपाल प्रधानको सुझाव यस्तो छ–
अहिले काउली, बन्दालगायतका तरकारीको बजार भाउ एकदमै सस्तो भएको छ । अहिले सस्तिएको काउलीबाट पछि महँगो भएको बेला फाइदा लिन सकिन्छ । बजारबाट ल्याएको काउलीलाई चाना बनाएर झिँगा नलाग्ने ठाउँमा जाली लगाएर अनि सुकाएर राख्दा पछि फेरि प्रयोग गर्न सकिन्छ ।
काउलीलाई अचार बनाएर राख्न पनि सकिन्छ । यस्तै सागलाई पनि विभिन्न तरिकाले फेरि प्रयोग गर्न सकिन्छ । अहिले बढी भएको सागको गुन्द्रुक बनाउन सकिन्छ । मुलाको सिन्की र चाना बनाएर सुकाएपछि तामासँग मिसाएर खान सकिन्छ ।
अहिले बढी भयो भनेर तरकारी फाल्नु पर्दैन । अहिले घाम लागेको र तापक्रम पनि बढेको छ । अहिले चाना बनाएर सुकाउन बढीमा एक हप्ता लाग्न सक्छ । गुन्द्रुक बनाउन चाहिँ अलि बढी समय लाग्न सक्छ ।
यी विधि किसानलााई थाहा भइरहेको कुरा हो । घाममा सुकिसकेपछि त्यसको व्यवस्थापन गर्ने पाटोमा ध्यान दिनुपर्छ । हामीले पनि बढी भएको तरकारी सुकाएर पछि खाने गरेका छौँ ।
मुलालाई चाहिँ जमिनमै खनेर पनि राख्न सकिन्छ । जमिनमा झन्डै दुई फिट खनेर, त्यसमा प्लास्टिक राखेपछि मुला राख्यो भने स्टोर हुन्छ । यसरी एकदेखि डेढ महिनासम्म मुला स्टोर गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।