मिर्गौलासम्बन्धी समस्या र मृत्युदर दुवै बढ्दो

 फागुन २९, २०८१ बिहीबार १८:७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. रजत कायस्थले अरू रोगको तुलनामा मिर्गौला रोगका कारण मानिसको ज्यान जाने दर विश्वमा नै बढ्दो क्रममा रहेको बताउनुभएको छ ।

विश्व मिर्गौला दिवसको अवसरमा बुटवलमा आयोजित चेतनामूलक र्‍यालीपछि आयोजित कार्यक्रममा बोल्दै डा. कायस्थले सरकारीस्तरबाटै मिर्गौला रोग र रोकथामबारे समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पुर्‍याउनुपर्ने बताउनुभयो । बेलाबेलामा मिर्गौलाको परीक्षण गर्न उहाँको आग्रह छ ।

यस्तै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले मधुमेह र रक्तचापका कारण मिर्गाैलामा पनि समस्या देखिने गरेको भन्दै मधुमेह र रक्तचापलाई नियन्त्रणमा राख्न आग्रह गर्नुभयो ।

डाक्टरहरूका अनुसार नियमित रूपमा हिँडडुल र शारीरिक व्यायाम गर्ने तथा सन्तुलित खाना खाँदा व्यक्तिको तौल नियन्त्रण भई उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला तथा अन्य दीर्घकालीन रोगबाट बच्न सकिन्छ ।

नेपालमा वर्षेनि झन्डै तीन हजार जनाको मिर्गौला फेल हुने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशमा झन्डै पाँच हजार जनाको निःशुल्क तथा एक हजार जनाको सःशुल्क हेमोडाइलाइसिस र तीन सय जनाको पेरिटोनियल डाइलाइसिस भइरहेको छ । देशमा झन्डै दुई हजार जनाले मिर्गौला प्रत्यारोपण गरी जीवन बिताइरहेका छन् ।

हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीवार विश्व मिर्गौला दिवस मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रत्येक १० जनामध्ये एक जनालाई मिर्गौलाको दीर्घकालीन रोग लाग्ने गर्छ ।

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया