बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर ३ दिनदेखि सम्पर्कविहीन

 जेठ ७, २०८० आइतबार १८:५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन बन्नुभएको छ । तीन दिनअघि मेयर नेपालीसँग भेट भएको र त्यसपछि उहाँसँग सम्पर्क नभएको उपमेयर धनबहादुर कायतले बताउनुभयो । नेपालीले प्रयोग गर्ने मोबाइल फाेन अफ रहेको छ ।

आज आइतवार बिहान कार्यालय जाँदा आफ्नो टेबुलमा कार्यवाहक चलाउनु भन्ने पत्र प्राप्त भएको उपमेयर कायतले बताउनुभयो । पत्रमा आफू उपस्थित नहुन्जेल कार्यवाहक चलाउनु भन्ने उल्लेख भए पनि मेयर उपस्थित हुन नसक्नुको कारण तथा कहाँ जाने भन्ने केही नखुलाएको कायतले बताउनुभयो ।

मेयर नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा तरलता नभएको भन्दै गएको वैशाख ९ गते सूचना टाँसेर बन्द गरिएको थियो । त्यसअघि दैनिक सयौँ व्यक्ति सहकारीमा रकम फिर्ता माग्न पुग्ने गरेका थिए । नेपालीले ७० करोड रुपैयाँभन्दा धेरै रकम फिर्ता गर्न बाँकी रहेको बताउनुभएको थियो । नेपाली अध्यक्ष रहेको सहकारीले १८ प्रतिशत ब्याज दिने भनेपछि सयौँ व्यक्तिले करोडौँ रुपैयाँ बचत गरेका थिए ।

यसैबीच इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् ढोरपाटनका मेयर नेपाली शुक्रवारदेखि सम्पर्कविहीन भएको निवेदन प्राप्त भएपछि खोजीका लागि प्रहरी परिचालन गरेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताउनुभयो । नेपालीको खोजीका लागि गृह मन्त्रालय तथा प्रदेश तहमा पनि पत्राचार गरिसकेको श्रेष्ठले बताउनुभयो ।

मेयर नेपालीसँगै उहाँका चालक पनि सम्पर्कविहीन बन्नुभएको छ । नेपालीले नेकपा एमालेबाट २०७४ र २०७९ मा ढोरपाटनको मेयर जित्नुभएको हो । मेयर नेपाली माथि २०७७ सालको भदौमा गएको पहिरो पीडितका लागि प्राप्त झन्डै तीन करोड रुपैयाँको हिसाब सार्वजनिक नगरेको आरोपसमेत लागेको थियो ।

तस्बिर : नेपालीकाे फेसबुकबाट

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया