स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्य मन्त्रालयद्वारा आन्तरिक कार्...
माघ ८, २०८१ मंगलबार
काठमाण्डौ – शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनःस्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्कनुभएको छ ।
बेनीको प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त सुवेदी पुनः पुरानै पेशामा फर्कनु भएको हो ।
पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ वर्षीय सुवेदीले स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसालाई पुनःनिरन्तरता दिनुभएको हो ।
लामो समयसम्म प्रकाश माविको प्रधानाध्यापक भएर जिम्मेवारी पूरा गर्नुभएका सुवेदीले अस्थायीसहित ४३ वर्ष छ महिना १८ दिन शिक्षण गर्नुभएको थियो ।
विसं २०७८ फागुन १८ गते अनिवार्य अवकाश लिएर सेवानिवृत्त दैनिकीमा समय बिताउँदै आउनुभएका सुवेदी यही भदौको पहिलो हप्तादेखि उज्यालो वैकल्पिक विद्यालयमा जोडिनुभएको हो ।
आमाहरुले अध्ययन गर्दै आएको विद्यालयमा शिक्षकको अभाव भएको र विद्यालय व्यवस्थापन समितिबाट भएको आग्रहबमोजिम आफू स्वयंसेवक भूमिकामा पुनःशिक्षणमा फर्किएको उहाँले बताउनुभयो । ‘अधिकांश विद्यार्थी आमाहरु नै हुनुहुन्छ, उहाँहरुमा पढ्ने तीव्र इच्छाशक्ति छ, मेरो अनुभव र क्षमताले भ्याएसम्म उहाँहरुको सिकाइ उपलब्धि बढाउनतर्फ मेरो प्रयास रहन्छ,’ सुवेदीले भन्नुभयो ।
सानो उमेरमा अध्ययन गर्न नपाएका, बीचैमा विद्यालय छाडेका महिला र आमाहरुलाई लक्षित गरेर बेनी सामुदायिक विद्यालय मातृ विद्यालय रहनेगरी विसं २०७१ देखि बेनीमा उज्यालो वैकल्पिक विद्यालय सञ्चालनमा आएको थियो ।
अहिले सामाजिक विकास कार्यालय सञ्चालनमा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयको भुँइतलामा कक्षाकोठा व्यवस्थापन गरेर कक्षा १ देखि १० सम्म पठनपाठन सञ्चालन गर्दै आइरहेको छ ।
विद्यालयमा अहिले ३३ विद्यार्थी अध्ययनरत छन् । विविध कारणले बीचैमा पढाइ छाडेका महिला र आमाहरु नै विद्यालयका विद्यार्थी हुन् ।
जीवनको कुनै चरणमा शिक्षाको ठक्कर लागेर अध्ययन गर्न आउनुभएका आमाहरु विद्यार्थी भएकाले पनि पठनपाठन गराउन सहज भएको शिक्षक सुवेदीको भनाइ छ ।
‘विद्यालयमा सबैभन्दा गाह्रो काम भनेको विद्यार्थीलाई प्रेरणा दिनु हो, उहाँहरु आफैँ पढ्नपर्छ भनेर विद्यालय आउनुभएको छ, पढ्ने उत्कृष्ट चाहना हुनु नै आधा सिकाइ हुनु हो, हामीले उहाँहरुको क्षमताको पहिचान गरेर सिकाइ उपलब्धि बढाउने गरी शिक्षण गर्ने जमर्को गर्छौं,’ उहाँले भन्नुभयो ।
शिक्षाको अवसरबाट बञ्चित भएका आमाहरुलाई साक्षर गराउने कार्यमा सहभागी हुन पाउनु आफ्ना लागि पनि योगदान गर्ने अवसर रहेको सुवेदीको भनाइ छ ।
शिक्षक सुवेदीसहित विद्यालयमा नवनियुक्त तीन शिक्षकलाई शुक्रवार विद्यालयमा स्वागत गरिएको छ ।
सेवानिवृत्त जीवन आमाहरुलाई साक्षर बनाउने कार्यमा खर्चिनु आफैँमा स्वागतयोग्य र प्रशंसनीय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
लामो समयसम्म एउटा विद्यालयको प्रधानाध्यापक भएर विद्यालयलाई उत्कृष्ट बनाउन सफल शिक्षक सुवेदीको आगमनले उज्यालो वैकल्पिक विद्यालयको समग्र शैक्षिक विकास र गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष शाक्यले बताउनुभयो । यस विद्यालयमा अहिले छ जना शिक्षक कार्यरत हुनुहुन्छ ।
विद्यालयमा अध्ययन गरेर दुई वर्षदेखि आमाहरुले एसईई परीक्षासमेत उत्तीर्ण गर्दै आउनुभएको छ ।
यस वर्षको एसईईमा नौ आमाहरु एसईईमा उत्र्तीण हुन सफल भएको विद्यालयका शिक्षक साहारा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा ६० वर्षसम्मका आमाहरु अध्ययनरत हुनुहुन्छ ।
विद्यालय सञ्चालनमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय एकाइ र बेनी नगरपालिकाले सहयोग गरेका थिए ।
सहयोगको निरन्तरता नभएको र स्रोतको सुनिश्चिता नहुँदा सहयोग जुटाएर विद्यालयमा कार्यरत शिक्षकको तलब सुविधा उपलब्ध गराउनुपर्ने बाध्यता आएको विद्यालय व्यवस्थापन समितिका सहसचिव सन्दीप खत्रीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।