सहर उज्यालो कार्यक्रम : ११ हजार स्मार्ट सडक बत्ती जडान

 भदौ १८, २०८० सोमबार १३:३२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्यधुनिक स्मार्ट सडक बत्ती स्मार्ट (स्ट्रिट लाइट) जडान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले पालिकाहरुसँगको लागत साझेदारीमा सहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ । सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ लगानी गरेकाे प्राधिकरणले जनाएकाे छ । 

प्राधिकरणले ‘सहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ ।

यसबाट सहरको सौन्दर्य वृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । प्राधिकरणले धार्थिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्वका मठमन्दिर र पर्यटकीय क्षेत्रहरुमा विशेष किसिमका बत्ती राख्नका लागि सर्भे र डिजाइन गरिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशबाट लोडसेडिङ अन्त्य गरिएपछि विद्युत् नपुगेको ठाउँको विद्युतीकरण र सहरी सौन्दर्यलाई वृद्धि गर्न पालिकाहरुसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम शुरु गरिएको बताउनुभयो ।

‘घरघरमा विद्युत् बालेर मात्र नहुने रहेछ, सहरी सौन्दर्यता तथा सुरक्षाका लागि सडक पनि उज्यालो हुनु पर्ने रहेछ, त्यसैले पालिकाहरुको साझेदारीमा कार्यक्रम शुरु गरिएको हो, अहिल देशभरका पालिकाहरुबाट सडक बत्ती जडानको माग आइरहेको छ’, उहाँले भन्नुभयो । ‘अहिले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित काम गरिरहेका छौँ।’

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि फिडर प्यानलहरु जडान गरिएको छ ।  सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मरहरु जडान गरिएका छन् ।

स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । विद्युतकाे महसुल सम्बन्धित पालिकाहरुले तिर्ने छन् ।

ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भीमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ ।  

भरतपुर महानगरपालिका र महालक्ष्मी, बूढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको छ । काठमाण्डौसहित ३ महानगरपालिका, ३ उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट  सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ । सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी–बल्खु सडक खण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइ जडान शुरु गर्न लागिएको छ ।

सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी लगानी साझेदारी रहने छ । उपमहानगरपालिकामा सम्बन्धित उपमहानगरपालिकाको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी साझेदारी रहने छ ।
नगरपालिकामा ६५ प्रतिशत सम्बन्धित नगरपालिकाको र ३५ प्रतिशत प्राधिकरणको लगानी साझेदारी रहने छ । यसैगरी, गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले बेहोर्ने छ ।

लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्ने छ । जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्ने छ । नगरपालिकाहरुले आफैँ शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बाेलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

पोखराका स्मार्ट सडक बत्ती उद्घाटन

नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) बाट झिलिमिली बनाउन शुरु भएको छ । ‘उज्यालो पोखरा अभियानअन्तर्गत’ पोखराका मुख्य–मुख्य चोकहरुमा जडान गरिएका हाइमास्ट र सडकमा जडान गरिएका बत्तीको उद्घाटन गरिएको छ ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतवार पोखराको नयाँ सडकमा गरिएको कार्यक्रममार्फत् जडान गरिएका हाइमास्ट र सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा नगरका मेयर आचार्यले सडक बत्तीले पोखराको सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाएको बताउनुभयो । उहाँले बाँकी ठाउँमा सडक बत्ती जडानका लागि दोस्रो चरणको कार्यक्रम शुरु गरिसकिएको बताउनु भयाे । 

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सडक बत्तीले पोखराको सौन्दर्यलाई अझै सुन्दर बनाउन र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले सडक बत्तीको मर्मतसम्भारमा विशेष ध्यान दिन आग्रह गर्नुभयो  ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पोखराको सौन्दर्यवृद्धिका लागि विद्युतीय तारलाई भूमिगत गर्ने कार्य भइरहेको बताउनुभयो । उहाँले विद्युत् आपूर्ति सुधारका लागि संरचना निर्माणमा केही ठाउँमा भइरहेको अवरोध हटाउन आवश्यक सहयोग र सहजीकरण गरिदिन महानगरपालिकालाई आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिका र प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरुमा १६ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक २३ वटा हाइमास्ट लाइट जडान गरिएको  छ ।

महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा २ हजार सात वटा सडक बत्ती जडान गरिएको छ ।  जसमध्ये ऊर्जा दक्षतायुक्त  ९० वाट र १२० वाटका स्मार्ट बत्ती रहेका छन् । सडक बत्ती जडान अयोजनाको लागत १४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई बृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि ३२ वटा फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ ।

सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतकाे महसुलको बिलिङ गरिन्छ । महसुल महानगरपालिकाले तिर्ने छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । जडान गरिएका बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले नै गर्ने छ । सडक बत्तीको डिजाइन आयु ५० हजार घण्टा रहेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया