कालिमाटीमा काउली, बन्दा, मुला र गोलभेंडाको भाउ किलोमा ५० र...
माघ ६, २०८१ आइतबार
तनहुँ – जिल्लाको व्यास नगरपालिका–११ मा सञ्चालित ‘बाराही–रानीमार्ग’ सडकको लक्ष्य अघि नै कालोपत्रे सम्पन्न भएको छ । विसं २०८० फागुन ११ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले आठ महिनाको अवधिमा निर्माण सम्पन्न गरेको हो ।
काममा तीव्रता दिएका कारण सम्झौता अगावै गएको असोज महिनामा कालोपत्रे सकिएको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले जानकारी दिनुभयो । ठेक्का सम्झौतालगत्तै योजनास्थलमा उपकरण र आवश्यक मजदुर परिचालन गरी साँघुरो सडकलाई फराकिलो बनाउने, सडकका तलमाथि ग्याबिङसहित पर्खाल, नाली लगायतका कार्य गरिएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँले योजनाको निर्माण प्रक्रिया अघि बढाएको हो । मङ्गलादेवी सुवास कन्सट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालय तनुहँबीच विसं २०७९ फागुन ११ गते चार करोड ४१ लाख ५० हजार ६ सय ८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
यो सडकले व्यास–११ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । यस वडाको रानीगाउँदेखि पराशर मार्गलाई जोड्दै बराहखोला, निर्बु, दुम्सीचौर, सेवर हुँदै पृथ्वीराजमार्गको तालघरेमा जोडिने वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिनुभयो । यसबाट एक हजार बढी स्थानीय बासिन्दा लाभान्वित हुने छन् । उहाँले भन्नुभयो ‘यस मार्गलाई रिङरोड मार्गको रुपमा विकास गर्ने योजनाका साथ काम गरिरहेका छौँ ।’
ढिलासुस्तीका कारण विकास निर्माणका आयोजना प्रभावित बनिरहेको अवस्थामा यो निर्माण कम्पनीले समय अगावै काम सम्पन्न गरी उदाहरण प्रस्तुत गर्न सफल भएको छ । निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालयको समन्वय, सहजीकरण र समुदायस्तरमा सहयोग हुने हो भने विकास आयोजनामा देखिएको ढिलासुस्ती हटाउन सकिन्छ भन्ने सन्देश पनि यस योजनाले दिएको छ ।
एक हजार सात सय मिटर प्रिमिक्स किसिमको कालोपत्रे र दरै पँधेरा क्षेत्रमा करिब ४० मिटर पानी कटाउन ढलान गर्ने कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँका इञ्जिनीयर राजेश पौडेलले जानकारी दिनुभयो । २० वर्षअघि ट्रयाक खोलिएको त्यस मार्गमा सडक स्तरोन्नतिदेखि कालोपत्रे गरेपछि स्थानीयवासी खुसी भएका छन् ।
त्यो सडकमा स–साना मर्मतकार्य बाहेक निर्माण कम्पनीले मुख्यकार्य सम्पन्न गरिसकेको पूर्वाधार विकास कार्यालय तनहुँका निमित्त कार्यालय प्रमुख कृष्ण आचार्यले बताउनुभयो । सम्पन्न योजनाको अनुगमन गरेर निर्माण कम्पनीलाई काम सम्पन्न भएको प्रमाणपत्र र भुक्तानी दिन बाँकी रहेको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।