अखिल बलिपूर्ति आज, नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

 कात्तिक १०, २०८० शुक्रबार १९:१५:३३ | रासस
unn.prixa.net

काठमाण्डौ – विजयादशमीपछिको चौथो दिन आज पनि नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिन शुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम आज कोजाग्रत पूर्णिमामा अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजै बलिपूर्ति गर्नुपर्ने जनाएको छ । औपचारिक रुपमा नवदुर्गाको प्रसाद लगाउने क्रम आजै सकिन्छ ।

दशैँमा घरमा आउने आफन्तलाई पूर्णिमाका दिन पनि टीका लगाइदिने व्यावहारिक प्रचलन छ । मान्यजनबाट टीका थाप्न जाने प्राय, ज्वाइँ, छोरी, बहिनी, भाञ्जाभाञ्जीलगायत हुने भएकाले पूर्णिमाका दिन पनि टीका र प्रसाद लगाइदिने व्यावहारिक प्रचलन रहेको हो । वैदिक सनातन परम्परामा पूर्णिमालाई पर्वका रुपमा मानिन्छ ।

अन्य पूर्णिमामा पनि आफूले मान्नुपर्नेलाई टीका लगाएर दक्षिणा दिने परम्परा अनुसार आश्विन शुक्ल पूर्णिमामा शनिवार पनि टीका लगाउने क्रम भने जारी रहन्छ । यसरी टीका लगाउँदा कसैले जमरा भने लगाउँदैनन् । अखिल बलिपूर्ति भएपछि नै जमरा नदी, ताल, तलाउ, पोखरी वा पवित्र स्थानमा लगेर सेलाइन्छ ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । देशका अन्य भागमा भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद र जमरा लगाउने गरिन्छ ।

कोजाग्रत व्रत भने कात्तिक ११ गते बस्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यस दिन बेलुकी धनधान्यकी देवी लक्ष्मीको विशेष पूूजा, आराधना गरिन्छ । यस वर्ष कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने पनि समितिले जनाएको छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया