केही हिमाली भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – २०६२ सालमा नुवाकोट सिसडोल र ओखरपौवाका स्थानीयहरुले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्डु खाएर फोहोर विसर्जन गर्न सहमति दिएका थिए । १८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै लड्डु खाएर फोहोर फाल्न दिने सहमति दिएका स्थानीयहरु अहिले फोहोरमा पिल्सिएर बस्न बाध्य भएका छन् । फोहोरले घेरिएको ककनी गाउँपालिका वडा नम्बर १ सिसडोल, वडा नम्बर २ ओखरपौवा र वडा नम्बर ३ चाउथे क्षेत्रका मानिसहरुमा स्वास्थ्य समस्यादेखि खेतबारीमा अनाज उब्जनी समेत हुन छाडेको छ।
त्यस क्षेत्रमा रहेको खेतबारी फोहोरले पुरेको र बाँकी रहेको खेतबारीमा अनाज उब्जनी हुन छाडेको स्थानीयहरुको गुनासो छ । सरकारले फाेहोर विसर्जन गर्न सहमति दिँदा एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै अस्पताल बनाइदिएर फाहोरमा मोहोर बनाउने आशा निराशामा परिणत भएको छ ।
फोहोरको दुर्गन्धको कारण माटोमा अन्न र फलफूल पनि फल्न छोडेको स्थानीय किसानहरुको गुनासो छ । उनीहरुले अन्न उम्रे पनि फल लागेपछि पात र फललाई किराले खाने जस्ता समस्या किसानहरुले भोग्नुपरेको बताए । किसानहरुले फोहोरबाट निस्केको लिच्चड खोलामा मिसिँदा खेतबारीमा उब्जनी हुन छाडेको गुनासो गरे । उत्पादन भएको फलफूल तरकारी समेत फोहोरमा उत्पादन भएको भनेर कसैले किन्न नमान्ने गरेको गुनासो कृषकहरूको छ ।
यस क्षेत्रका किसानहरुले लगाएको अन्नबाली र फलफूलहरुमा किरा र डढुवा लाग्ने गरेको बताउँछन् । ककनी गाउँपालिका चाउथेका स्थानीय कृषक कृष्णहरी ढुङ्गानाले बञ्चरेडाँडामा फालेको फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको वडा–१ सिसडोल, वडा–२ ओखरपौवाका साथै वडा–३ चाउथेमा कृषि उत्पादनमा ह्रास आउन थालेको गुनासो गर्नुभयो । उहाँले फोहोरको दुर्गन्धले किसानहरुले उत्पादन गरेको कृषिबाली र फलफूलहरुमा किरा लाग्ने गरेको उल्लेख गर्नुभयो ।
कृषक ढुङ्गानाले किसानहरुले लगाएको आलु, काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरुमा किराहरु लागेर बाली नष्ट गर्ने गरेको बताउनु भयो । उहाँले बिरुवाहरु नै नफस्टाउने समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा समेत धेरै ह्रास आएको दुखेसो गर्नुभयो । उहाँले कागती निबुवा जस्ता अमिलो फलफूलमा समेत सेता किराहरु लाग्ने गरेका बताउनु भयो । उहाँले फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गर्ने मात्रै नभएर पशुपक्षीहरुमा समेत नयाँ–नयाँ रोगहरु निस्कन थालेकाले बस्न सक्ने अवस्था नभएको भन्दै राज्यले बस्ती स्थानान्तरण गर्नुपर्ने माग गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको सिसडोल, ओखरपौवा र चाउथेमा कृषि उत्पादनमा किरालाग्न थालेको छ । किसानहरुले लगाएको आलु, काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरुमा फोहोरको गन्धले विभिन्न किसिमका किराहरु लाग्न थालेको छ । बिरुवाहरु नै फस्टाउन नसक्ने जस्ता समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा धेरै ह्रास आएको छ । कागती निबुवा जस्ता अमिलो फलफूलमा किरा नलाग्नुपर्ने भए पनि अहिले यो क्षेत्रमा फलफूलमा समेत सेता किराहरु लाग्ने गरेका छन् । कागती, सुन्तला जस्ता फलफूल उत्पादन फोहोरको गन्धले नष्ट भएर गयो । फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गरेको छ । पशुपन्क्षीहरुमा समेत नयाँ–नयाँ रोगहरु निस्कन थालेको छ ।’
त्यस्तै त्यस क्षेत्रका अर्का कृषक विश्वनाथ बजगाईंको दुखेसो पनि उस्तै छ । कृषक बजगाईंले पनि सरकारले काठमाण्डौ उपत्यकाको फोहोर वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानवीय मात्रै नभएर कृषि उत्पादनमा समेत असर पर्न थालेको बताउनु भयो । उहाँले ककनी क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उत्पादनहरुमा फोहोरको असरले सबैमा किरा लाग्न थालेको बताउनु भयो । उहाँले उत्पादन भएको फलफूलहरु बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला, ज्यामिर, निबुवा, जुनारमा भित्र किरा लागेर खानै नहुने हुन थालेको भन्दै किसानहरुको महेनत समेत खेर जान लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘२२ वटा भन्दा बढी पालिकाको फोहोर बञ्चरेडाँडामा अवैज्ञानिक रुपमा विसर्जन गर्दा मानवीय मात्रै नभएर कृषि उत्पादनमा समेत असर परेको छ । जसमा ककनी क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उत्पादनहरुमा फोहोरको असरले सबैमा किरा लाग्न थालेको छ । बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला, ज्यामिर, निबुवा, जुनारमा भित्र किरा लागेर खानै नहुने भएको छ ।’
ककनीको फोहोरबाट प्रभावित क्षेत्रका अर्का स्थानीय किसान शिवराम घिमिरेले पनि कृषि उत्पादन अन्नबालीदेखि फलफूलमा विभिन्न रोगहरु लाग्नाले उत्पादन ह्रास आउन थालेको बताउनु भयो । उहाँले यो क्षेत्रमा उत्पादन हुने सुन्तला, कागती र मौसमहरुमा किरा लाग्ने थालेको बताउनु भयो । उहाँले फोहोरको गन्धको कारण कृषिबालीहरुमा ठूलो असर गरेकाले यस्तै रहे यो क्षेत्र उजाड बन्ने अवस्था आउने बताउनु भयो । उहाँले सरकारले काठमाण्डाै उपत्यकाले उब्जाएको फोहोरको रोग नुवाकोट ककनीवासीलाई दिने काममा भन्दा पनि वैज्ञानिक व्यवस्थापनको विकल्प खोज्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कृषि उत्पादन अन्नबालीदेखि फलफूलमा विभिन्न रोगहरु लाग्नाले उत्पादन ह्रास आउन थालेको छ । यो क्षेत्रमा उत्पादन हुने सुन्तला, कागती र मौसमहरुमा किरा लाग्ने थालेको छ । फोहोरको गन्धको कारण कृषिबालीहरुमा यति ठूलो असर गरेको छ भने मानवहरुमा कति असर परेको छ भन्ने विषय मूल्याङ्कन गरेर भन्न सक्ने अवस्था छैन । त्यसैले सरकारले काठमाण्डाै उपत्यकाले उब्जाएको फोहोरको रोग नुवाकोट ककनीवासीलाई दिने काममा भन्दा पनि वैज्ञानिक व्यवस्थापनको विकल्प रोज्न आवश्यक छ ।’
अर्को स्थानीय कृषक मनिष ढुङ्गानाको पीडा पनि अरु किसान र स्थानीयको भन्दा फरक छैन । कृषक ढुङ्गानाले मानवीय स्वास्थ्य समस्या मात्रै नभएर फोहोरको गन्धको कारण कृषि उत्पादनमा ह्रास आउन थालेको बताउनु भयो । उहाँले काठमाण्डाै उपत्यकाको फोहोर अस्तव्यस्त रुपमा नुवाकोट सिसडोल र बञ्चरेडाँडामा फाल्दा फोहोरको दुर्गन्ध कम गर्न हालिएको केमिकलहरुले मानवीय स्वास्थ्यमा बढी प्रभाव पार्ने थालेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले काठमाण्डौ उपत्यकाको फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानवीय स्वास्थ्यमा प्रमुख असर परेको हो । मानवीय स्वास्थ्य समस्या मात्रै नभएर फोहोरको गन्धको कारण कृषि बालीहरु उत्पादनमा समेत असर परेको छ । जसको असरले कृषि उत्पादनमा ह्रास आउन थालेको छ । काठमाण्डौ उपत्यकाको फोहर अस्तव्यस्त रुपमा फालेको छ । अझ फोहाेरको दुर्गन्ध कम गर्न विभिन्न केमिकलहरु प्रयोग गरेको छ । तर फोहरको गन्धले भन्दा पनि केमिकलले मानवीय स्वास्थ्यमा बढी प्रभाव पार्ने थालेको छ ।’
काठमाण्डौ उपत्यकाको फोहाेर सिसडोल र बञ्चरेडाँडामा जथाभावी फालिदिँदा डम्पिङ साइट नजिक मात्र नभएर ककनी गाउँपालिकाको वडा नम्बर १, २, ३ र धुनीबेसी नगरपालिका (धादिङ) को केही वडा बढी प्रभावित भएका छन् । यो क्षेत्रका मानिसहरु बाह्रैमास रुघाखोकी र झाडापखाला र क्यान्सर जस्ता प्राणघातक रोगको शिकार बन्न थालेका छन् । त्यसैले फोहोर व्यवस्थापन गर्ने अधिकार प्राप्त निकाय र सरकारको ध्यान वैज्ञानिक फोहोर व्यवस्थापन गरेर वा फोहोरबाट प्रभावित स्थानीयहरुकोहरुको बस्ती स्थानान्तरण गरी न्याय दिनमा जानु जरुरी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।