१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
गोरखा – बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुइँ घाँस तथा डाले घाँसखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागेको केन्द्रकी निमित्त प्रमुख डा. शर्मिला कुमालले राससलाई जानकारी दिनुभयो ।
कार्यालयले प्रतिरोपनी ३ हजार रुपैयाँका दरले किसानलाई अनुदान उपलब्ध गराउने छ । ‘बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ, कार्यक्रममार्फत अनुदान लिन चाहनेका लागि आवेदन आह्वान गरिसकिएको छ’, निमित्त प्रमुख कुमालले भन्नुभयो ।
किसानले घाँसखेती गरेसँगै त्यसको उपयोगिताका बारेमा अध्ययन गरेर अनुदान उपलब्ध गराइने छ । बाँझो जग्गा भाडामा लिएर घाँसखेती गर्न चाहनेले भने भुइँ घाँसका लागि कम्तीमा ५ वर्ष र डाले घाँसका लागि कम्तीमा १० वर्ष करार सम्झौता गरेको हुनुपर्ने उहाँले बताउनुभयो ।
अनुदानका लागि स्थानीय वडा कार्यालयबाट तीन वर्षदेखि खेतीयोग्य जमिन बाँझो रहेको तथा बाँझो भूमिमा खेती गर्न ‘प्रोत्साहन अनुदानका लागि योग्य’ रहेको सिफारिस निवेदकले आवेदनका साथ पेस गर्नुपर्नेछ ।
गोरखामा झन्डै ६ हजार रोपनी बाँझो जमिनमा घाँसखेती गर्ने किसानलाई अनुदान दिने योजना रहेको निमित्त प्रमुख कुमालल बताउनुभयो । बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन मापदण्ड २०८० बमोजिम अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।