दूधकाेशी तरेर ओखलढुङ्गाकाे भदाैरे पुग्छन् खाेटाङकाे भालुढुङ्गाका माझी समुदायका विद्यार्थी

 मंसिर २०, २०८० बुधबार १३:५६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

भालुढुङ्गाकाे माझी गाउँ

खोटाङ – खोटाङको रावाबेसी गाउँपालिका–३ लामीडाँडा भालुढुङ्गाकी ७ वर्षीय सनिता माझी पढ्नका लागि ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको भोजेमा रहेकाे कालिका आधारभूत विद्यालय पुग्छिन् । विद्यालय खुल्ने दिन सनिता झोलामा किताब कापी बोकेर साथीसँग झोलुङ्गे पुलबाट दूधकोशी तरेर विद्यालय पुग्छिन् । उनी कक्षा २ मा पढ्छिन् । यस्तै कक्षा १ मा अध्ययनरत त्यही ठाउँका तेन्जिङ माझी पनि दूधकोशी तरेर कालिका आधारभूत विद्यालय जाने आउने गरेका छन् ।

१६ घर माझी र एक श्रेष्ठ परिवारको बसोबास रहेको भालुढुङ्गा आसपासमा विद्यालय छैनन् । त्यही कारण बालबच्चालाई पढ्नका लागि दूधकोशी तरेर भोजे पठाउने गरेको स्थानीय हर्कबहादुर माझी बताउनुहुन्छ । १६ घरमध्ये तीन घर माझी समुदायको बसोबास नजिकैको खजेरीटारमा छ । अहिले भालुढुङ्गाका तीन जना र खजेरीटारका एक जना विद्यार्थी कालिका आधारभूत विद्यालयमा अध्ययनरत छन् । उनीहरू गाउँबाट दूधकोशी किनारै किनार हिँडेर पुल पुगेपछि पारी तरेर ३० देखि ४५ मिनेटमा विद्यालय पुग्छन् ।

भालुढुङ्गाकाे माझी गाउँ

दूधकोशी किनारमा रहेको भालुढुङ्गामा एउटा बाल विकास केन्द्र सञ्चालनमा छ । बाल विकास केन्द्रमा कार्यरत शिक्षिका इन्दिरा माझीले केन्द्रमा ५ जना विद्यार्थी अध्ययनरत रहेका बताउनुभयाे । केन्द्रको सिकाइ पार गरेका विद्यार्थी कक्षा १ वा त्याेभन्दा माथिल्लो कक्षामा पढ्नका लागि दूधकोशी पारीको विद्यालय पुग्न बाध्य छन् । कालिका आधारभूत विद्यालयमा पनि कक्षा ३ सम्म मात्र पढाइ हुन्छ । त्यसपछि मावि तहको कक्षा पढ्नका लागि भदौरेकै छात्र प्रगति मावि वा विश्वज्योति मावि लामीडाँडा पुग्नुपर्छ । मावि तहको अध्ययनका लागि भालुढुङ्गाका माझी विद्यार्थी घण्टौँ उकालो हिँड्नुपर्ने बाध्यता छ । दूधकोशीमा भोजे जोड्ने झोलुङ्गे पुल बनेपछि भालुढुङ्गाका विद्यार्थी कालिका आधारभूत विद्यालय पुगेर पढ्न थालेका लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगर बताउनुहुन्छ । भौगोलिक रूपमा अनकन्टार, त्यसमाथि सानो गाउँ भन्दै भालुढुङ्गामा अहिलेसम्म विद्यालय नबनेकाे हो ।

कक्षा २ मा पढ्ने सनिता माझी

कक्षा १ मा पढ्ने तेन्जिङ माझी

भालुढुङ्गाका आर्थिक रूपमा सबल केही माझी समुदायले बालबच्चालाई धरान, काठमाण्डाै लगायतका सहरमा लगेर पढाइरहेका छन् । गाउँमै दुःखजिलो गर्दै बसिरहेका परिवारले जसोतसो सामुदायिक विद्यालयमै बालबच्चा पढाइरहेका छन् । नसक्ने परिवारका कतिपय विद्यार्थीले मावि तहको पढाइ पूरा नगरि विद्यालय छाड्ने गरेका वडाध्यक्ष मगरले बताउनुभयाे । ‘सक्ने दूधकोशी पारी जान्छन्, अलि सक्ने सहर बजार जान्छन्’, उहाँले भन्नुभयाे, ‘नसक्नेले पढाइ नै छाड्छन् ।’

दूधकोशी किनारमा रहेको लामीडाँडाकै रभुवाँ र खोरियामा ६४ माझी परिवारको बसोबास छ । उनीहरूका बालबच्चा भने विश्वज्योति लामीडाँडामा पढिरहेका छन् । ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजनाका लागि रभुवाँ र भालुढुङ्गाका माझी समुदायलाई स्थानान्तरण गर्ने तयारी गरिएको छ । उनीहरूले भने स्थानान्तरणभन्दा पनि घर जग्गाको उचित मुआब्जा पाउनुपर्ने बताउँदै आएका छन् ।

तस्बिर : दमन राई

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया