१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिस्पर्धाका आधारमा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णयको विरोधमा आन्दोलन शुरु गरेका छन् ।
बुधवारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउण्ड ह्याण्डलिङ’ खुला प्रतिस्पर्धाका आधारमा नभएर स्वतः नियमले पाउनुपर्ने माग राख्दै आन्दोलन शुरु गरेका हुन् । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउण्ड ह्याण्डलिङ’ खुला प्रतिस्पर्धाबाट दिने निर्णय गरेसँगै उनीहरुले ‘ग्राउण्ड ह्याण्डलिङ’ वायुसेवा निगमले नै पाउनुपर्ने माग राखेका हुन् ।
झन्डै वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले विरोध गरेका हुन् । उनीहरुले प्राधिकरणबाट अडिटका लागि आउने प्राविधिकलाई रोक्ने बताएका छन् । युरोपेली युनियन(ईयु)ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधवारदेखि तीन दिन विस्तृत अडिट गर्ने तयारी गरेको भन्दै निगमका कर्मचारीहरुले प्राधिकरणका अडिट गर्न आउने कर्मचारीलाई निगममा छिर्न नदिने तयारी गरेको बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष तथा निगमका वरिष्ठ अधिकृत रमेशकुमार पाण्डेले प्राधिकरणले युरोपेली युनियन(ईयु)ले दिएको प्रतिवेदनका आधारमा नेपाल वायुसेवा निगमको कारण कालोसूचिबाट नहटेको आरोप लगाउँदै ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमबाट खोस्ने उद्देश्यले प्राधिकरणको निर्णय विरुद्ध आन्दोलन शुरुवात गरिएको बताउनु भयो । उहाँले हवाई माफियाहरुको निर्देशनअनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले नेपाल वायुसेवा निगमले अहिलेसम्म गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्न खोजिएको बताउनु भयो ।
उहाँले प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ सम्बन्धी गरेको निर्णय प्राधिकरण र राष्ट्रको हितमा नभएको बताउनु भयो । उहाँले निगमले ग्राउण्ड ह्याण्डलिङबाट वार्षिक ४ अर्ब रुपैयाँ आर्जन गर्दै आएको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवालाई लक्षित गरेर आक्रमण गरेको बताउनु भयो ।
कर्मचारीहरुले ‘ग्राउण्ड ह्याण्डलिङ’ खोस्ने निर्णयविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्ने बताएका छन् । उनीहरुले निगम र निगमका कर्मचारीहरुको हितको लागि भए पनि प्राधिकरणले ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमलाई नै दिनुपर्ने बताएका छन् । कर्मचारीहरुले ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमबाट खोस्ने प्राधिकरणको राष्ट्रघाती निर्णय खारेज गर, निगम मास्ने निर्णय फिर्ता गर, नागरिक उड्डन प्राधिकरणको दादागिरी बन्द गर, भ्रष्ट क्यानको डिजी राजिनामा दे लगायतका नारा समेत लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।