ठमेलका चोकचाेकमा सीसीटीभी क्यामेरा जडान शुरु

 मंसिर २१, २०८० बिहीबार १३:१८:२६ | रासस
unn.prixa.net

काठमाण्डाै – राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सीसीटीभी क्यामेरा जडान शुरु भएकाे छ ।

ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाण्डाै महानगरपालिका र काठमाण्डाै उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सीसी क्यामेरा जडान शुरु भएकाे हाे ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सीसी क्यामेरा जडान थालिएकाे बताउनुभयाे ।

अध्यक्ष शर्माले ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० वटा सीसी क्यामेरा जडान गरिएको बताउनुभयो । चार ठूला क्यामेरासहित एक सय १२ वटा सीसी क्यामेरा जडान गर्नेगरी काम भइरहेको छ, अहिले ८० वटा क्यामेरा जडान गर्ने काम सम्पन्न भएको छ, अध्यक्ष शर्माले भन्नुभयो ।

ठमेल क्षेत्रभित्र सीसी क्यामेरा जडान गर्न यसअघि काठमाण्डाै महानगर प्रहरी, काठमाण्डाै उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सीसी क्यामेराको अध्ययन गरेको थियो ।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि सीसी क्यामेराले सहयोग पुग्ने बताउनुभयो । विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषदमा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

यस्तै परिषद्ले ठमेलभित्रका प्रत्येक गल्लीलाई कालोपत्र गर्नका लागि सम्बन्धित निकायसँग पहलकदमी लिँदै आएको छ भने प्रत्येक बिजुलीका खम्बामा सडक बत्ती जडानको कामलाई समेत अगाडि सारेको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया