धरानमा विमानस्थल निर्माणका लागि अध्ययन शुरु

 मंसिर २१, २०८० बिहीबार १६:२२:६ | रासस
unn.prixa.net

सुनसरी – नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन शुरु गरेको छ । 

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईसहित आज बिहीवार बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको ठाउँमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गएको कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत बिमल खनाल र चार्टर्ड एकाउन्टेन्ट अनिल बस्नेत सदस्य रहेको टोली गठन गरिएको थियो । बुधवार धरान आइपुगेको टोलीले उपमहानगरपालिकामा छलफल गरेपछि आज स्थलगत अध्ययन शुरु गरेको हो । 

अध्ययन टोलीका संयोजक थापाले विगतमा भएका अध्ययन प्रतिवेदनलाई नै आधार मानेर अध्ययन अघि बढाइएको बताउनुभयो । त्यही ठाउँमा विमानस्थल निर्माणका लागि भनेर प्राधिकरणले पहिला पनि अध्ययन गरेको थियो । प्राधिकरणले २०७४ असार १ गते धरान उपमहानगरपालिकालाई पत्र पठाउँदै एटीआर ४२ सिट क्षमताको जहाजका लागि विमानस्थल निर्माण गर्न झन्डै ९३ दशमलव २५ बिघा जग्गा आवश्यक पर्ने उल्लेख गरेको थियो । 

अध्ययन टोलीका संयोजक थापाले अहिले नेपालमा ७२ सिट क्षमताका जहाज प्रचलनमा रहेकाले ४२ सिट क्षमताको जहाजका लागि विमानस्थल बनाउन अझै धेरै जग्गा आवश्यक पर्ने बताउनुभयो । डाँडा घोपामा निजी कम्पनी यति इन्कर्पोरेट प्रालिले विमानस्थल निर्माण गर्ने भनेर २०६० सालमा झन्डै सात बिघा जग्गा खरिद गरेको थियो । 

निजी कम्पनीले विमानस्थल निर्माण गर्न पाउने स्पष्ट कानुन नरहेकाले विमानस्थल बन्न सकेको छैन । तत्कालीन समयमा विमानस्थलका लागि सस्तो मूल्यमा जग्गा बिक्री गरेका स्थानीय भने विमानस्थल नबन्ने भए आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । 

आज स्थलगत अध्ययनमा पुगेको टोली समक्ष पनि स्थानीयले विमानस्थल निर्माण गर्ने भए तुरुन्तै शुरु गर्न र नबन्ने हो भने जग्गा फिर्ता गर्न माग गरेका छन् । उपमहानगरपालिकाका मेयर राईले स्थानीयलाई सम्बोधन गर्दै यति इन्कर्पोरेटको नाममा रहेको जग्गा पनि उपमहानगरको नाममा ल्याएर विमानस्थल निर्माणको काम छिट्टै अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राविधिक टोलीले नापजाँच गरेपछि कस्तो प्रतिवेदन आउँछ, त्यसअनुसार श्रमदान गरेर भए पनि विमानस्थल बनाउँछौँ ।’

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया