प्याजको अभावसँगै व्यापारीले आफूखुशी मूल्य तोक्दै

 मंसिर २८, २०८० बिहीबार ८:५९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बजारमा प्याजको अभाव भएसँगै व्यापारीले आफू खुशी मूल्य तोक्न थालेका छन् । अभाव भइरहेकै बेला भारतले गएको शनिवारदेखि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको आयात ठप्प भएको छ । यसले गर्दा बजारमा प्याजको भाउ बढेको छ ।

भारतको प्रतिबन्धको फाइदा उठाउँदै केही व्यापारी र बिचौलियाले प्याजको कृत्रिम अभाव गर्न थालेका छन्  । अहिले बजारमा प्याजको मूल्यमा एकरुपता छैन । उपभोक्ताले प्याज किलोमै १ सय ७० रुपैयाँसम्म तिर्ने गरेका छन् । थोक मूल्यमै प्याजको भाउ किलोको १५० रुपैयाँसम्म पुगेको नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले बताउनुभयो ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अभाव भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताउनुभयो । नेपालमै उत्पादन हुने अनुकूल वातावरण भए पनि प्याजका लागि भारतकै भर पर्नु पर्ने अवस्था छ ।

भारतले बेलाबेलामा प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियाले चलखेल गर्ने गरेका छन् । प्याज उत्पादन बढाउन सरकारले ०६४ सालदेखि ०६९ सालसम्म सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र रूपन्देहीमा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, प्याज खेतीको क्षेत्रफल र उत्पादन बढ्न सकेको छैन ।

यसैबीच, बजारमा प्याज अभाव भएपछि चीनबाट ल्याउने तयारी भएको छ । केही व्यवसायीले चीनबाट प्याज ल्याउन अर्डर गरिसकेको बताएका छन् ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया