नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घको कालोसूचीबाट हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

 मंसिर २८, २०८० बिहीबार ११:२८:१६ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभयो ।

प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत त्यस्तो सूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, 'मैले युरोपेली युनियनका प्रतिनिधिसँग यस विषयमा कुराकानी गरेको छु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग पनि पटकपटक छलफल गरेको छु । हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमाथि प्रश्न उठ्न सक्छ । त्यसैले म यसमा गम्भीर छु ।'

यसपटक हवाई सुरक्षामा केही सुधार भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको आधारमा कालोसूचीबाट हट्छौँ कि भन्ने विश्वास भए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, 'हाम्रो सुधार पर्याप्त भएन । थप सुधारका निम्ति काम गर्नुपर्ने देखिएको छ । तपाईँहरूले दिएका सुझाव महत्त्वपूर्ण छन् । नियामक निकायसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ ।'

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया