भूकम्प पीडितकाे पीडा : छाेराछाेरी साेध्छन् 'त्रिपालबाट कहिले घर फर्कने, नयाँ घर कहिले बन्छ ?'

 मंसिर ३०, २०८० शनिबार १०:५९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - जाजरकोट भूकम्पबाट पीडित भएकाहरु झण्डै डेढ महिनादेखि त्रिपालमै छन् । गएको कात्तिक १७ गते रातिको भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायतका जिल्लामा क्षति भयो । सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनेको अनुदान रकम पीडितले प्राप्त गर्न सकेका छैनन् ।

नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्री खुला ठाउँमा त्रिपाल टाँगेर बस्नुभएको छ । राज्यले दिने रकमको प्रतीक्षामा रहेको उहाँ बताउनुहुन्छ । विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको भरमा चिसो तथा अभावसँग जुध्नुपरेको उहाँको गुनासो छ ।

आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले चार महिना खाना नपुग्नेहरुलाई आर्थिकरुपमा अब कसरी परिवारका समस्या समाधान गर्ने चिन्ताले पिरोलेको बारेकोट गाउँपालिका–१ सिल्पाचाैरका कालीबहादुर बुढाले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ,‘घर भत्कियो, त्रिपालबाट कहिले निस्कने ? त्यसमाथि छोरीले पटक पटक हाम्रो घर कहिले बन्छ ? भनेर सोधेको उत्तर के दिनु ?’ कालीबहादुरको जस्तै समस्या धेरै भूकम्प पीडितको छ ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार सरकारले घोषणा गरे पनि तत्काल अनुदान वितरणको काम शुरु नगर्दा समस्या भएको छ । भूकम्प प्रभावित नलगाड नगरपालिकामा अस्थायी आवास निर्माणको बजेट प्राप्त भएको छैन ।

जिल्ला प्रशासन कार्यालयले रकम नभएकाले निकासा दिन नसकेको जनाएको छ । भूकम्पप्रभावित जूनीचाँदे गाउँपालिकामा पनि रकम निकासा भएको छैन । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अधिकारी हरिश्चन्द्र शर्माका अनुसार अस्थायी आवास निर्माणका लागि भेरी नगरपालिकासहित बारेकोट, कुशे, शिवालयमा रकम पुगेको छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया