पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताक...
मंसिर १४, २०८१ शुक्रबार
पर्सा – पर्सा प्रहरीले लागुऔषध गाँजा फँडानी अभियानका क्रममा नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो ।
अभियानअन्तर्गत अहिलेसम्म जिल्लाको विभिन्न ठाउँमा झन्डै नौ हजारभन्दा बढी गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले जानकारी दिनुभयो ।
अभियानकै क्रममा पछिल्लो पटक पर्साको ठोरी गाउँपालिका–३ रामनगर तथा बुद्धनगर र पटेर्वासुगौली गाउँपालिका–४ र ५ देउरिया र डेकुलीमा स्थानीयवासीले अवैधरूपमा लगाएका छ हजार गाँजाको बोट फँडानी गरी नष्ट गरिएको थियो ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, इलाका प्रहरी कार्यालय ठोरी, इलाका प्रहरी कार्यालय औडारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीयवासीले झन्डै ११ कट्ठा जग्गामा लगाएको गाँजा फँडानी गरिएको पटेर्वा सुगौली इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले जानकारी दिनुभयो ।
यसअघि प्रहरी टोलीले जिल्लाको पर्सागढी नगरपालिका–३ झबराहामा झन्डै डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट र ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा झन्डै १६ कट्ठा जग्गामा लगाइएको १८ हजार गाँजा खेती फँडानी गरेको थियो .
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले ठोरी गाउँपालिका–३ र ४ मा स्थानीयवासीले १० कट्ठा खेतमा अवैधरूपमा लगाएका गाँजा र जिराभवानी गाउँपालिका–१ मा छ कट्ठा एक धुर जग्गामा लगाएको गाँजाको बोट फँडानी गरी नष्ट गरेको थियो ।
पर्साको ठोरी, पर्सागढी, बहुदरमाई, पोखरियालगायत ठाउँहरूमा गाँजा खेती भइरहेको छ । अवैधरूपमा गाँजाखेती फस्टाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न अभियान थालिएको र अन्य ठाउँमा पनि गाँजा फँडानीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालयका डीएसपी थापाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।