प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने, परराष्...
मंसिर १४, २०८१ शुक्रबार
इलाम - उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्नुभएका माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किनुभएको छ ।
विना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उहाँलाई गएकाे वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ मा रहेकाे ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धकझैँ भएर अस्पतालमै बस्नु परेको थियो ।
परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिइ घर पठाएको छ । दुर्गाप्रसाद एक वर्ष नौ महिना सात दिन अस्पतालमा रहनुभएको अस्पतालले जनाएको छ । उहाँ निको भएको छ महिना भइसके पनि अस्पतालमा तिर्नुपर्ने करिब चार लाख १५ हजार रुपैयाँ नहुँदा घर जान पाइएको थिएन ।
विभिन्न सञ्चारमाध्यममा उपचार खर्च अभावले अस्पतालमै बस्न बाध्य दुर्गाप्रसाद शीर्षकमा समाचार आएपछि अस्पतालले उहाँले बुझाउन बाँकी रकम नलिइ घर पठाएको अस्पतालका अध्यक्ष डा गिरिराज भन्तानाले बताउनुभयो । उहाँले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताउनुभयो ।
'दुर्गाप्रसादमा देखिएको रोग सिजिफ्रेनिया हो', डा भन्तानाले भन्नुभयो, 'शत्प्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।' उहाँले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको बताउनुभयो ।
'छ महिनाअघि नै ठूलोबुबालाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको थियो', दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भन्नुभयो, 'अस्पताललाई बुझाउने पैसा नभएपछि करिब छ महिनादेखि अस्पतालमा बन्धकझैँ बन्नुभएको थियो, अस्पतालको छुटले राहत पायौँ ।'
दुर्गाप्रसादलाई २०७७ चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । दुर्गाप्रसाद २०३७ साल माघमा बेपत्ता हुनुभएको थियो । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल पर्नुभएका उहाँ २०७७ फागुनमा भारतकै कोलकातामा रहेकाे दमदम कारागारमा फेला पर्नुभयो । विभिन्न सङ्घ–संस्थाको पहलमा उहाँलाई २०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकमा रहेकाे घरमा ल्याइएको थियो ।
जिल्ला प्रशासन कार्यालय इलामले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उहाँको केही उपचार निःशुल्क गरिदिएको थियो । उहाँको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ प्रदान गरेको थियो ।
उपचारपछि घर आउनुभएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिकरूपमा विक्षिप्त बन्नुभएका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उहाँलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।