अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उहाँको मन्त्रीमण्डल सदस्...
मंसिर १३, २०८१ बिहिबार
बाँके – रजिष्ट्रेशन गर्दा महिलाको नाममा छुट हुने व्यवस्थापछि भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा महिलाको नाममा रजिष्ट्रेशन हुने क्रम बढेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको तथ्यांक अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा रजिष्ट्रेशन हुने क्रम ५० प्रतिशतभन्दा बढी छ । गएको आर्थिक वर्षमा मालपोतमा नगर र ग्रामिण क्षेत्रमा गरी १३ हजार ४४२ राजीनामाको लिखत भएको छ । मालपोतको तथ्यांक अनुसार गएको आर्थिक वर्षमा आठ हजार २८६ महिलाले लिखत रजिष्ट्रेशनमा छुट पाएको कार्यालय प्रमुख प्रेम दौल्यालले जानकारी दिनुभयो ।
‘सरकारले छुटको व्यवस्था गरेपछि महिलाको नाममा नामसारी गर्ने क्रम बढेको पाइएको छ’, कार्यालय प्रमुख दौल्यालले भन्नुभयो । दैनिक ५० प्रतिशत भन्दा बढी महिलाको नाममा नामसारी हुने गरेको छ । उहाँले महिलालगायत सेवाग्राहीलाई जग्गा नामसारीका लागि कार्यालयमा सहज व्यवस्था भएको बताउनुभयो ।
भूमिसुधार तथा मालपोत कार्यालयबाट हुने लिखतको किसिम राजीनामा बाहेक अंशवण्डा, सट्टापट्टा, छोडपत्र, संगोलनामा, चक्लाबन्दी, अंशभर्पाई, पुस्ताभित्र र पुस्ताबाहिर, बकसपत्र नाता, डोरदस्तुर, दृष्टिबन्धक, मानो जोडिएको, दानपत्र, सेवा शुल्क, धर्मपुत्र, कपाली तमसुक, दर्ता फारीजस्ता विभिन्न किसिमका हुने भए पनि अधिकांश महिलाको नाममा राजीनामाको लिखत हुने गरेको प्रमुख दौल्यालको भनाई छ ।
मालपोत प्रमुख दौल्यालका अनुसार, महिला बाहेक अपाङ्ग, दलित, वृद्ध र अन्यलाई पनि रजिष्ट्रेशनमा छुटको ब्यवस्था गरिएको छ । मालपोतमा दैनिक ७० को हाराहारीमा लिखत पास हुँदा करिब ४० वटा महिलाको नाममा हुने गरेको छ ।
महिलाको नाममा रजिष्ट्रशेन गर्दा लाग्ने शुल्कको २५ प्रतिशत छुट हुने गरेको छ । यसैगरी दलितको नाममा ५० प्रतिशत, पूर्ण अपाङ्गलाई २५ प्रतिशत, जेष्ठ नागरिकलाई २५ प्रतिशत, नाबालकलाई २५ प्रतिशत र शीहद परिवारलाई १०० प्रतिशत सम्म छुटको व्यवस्था रहेको छ ।
मालपोत कार्यालयका अनुसार, उप–महानगरपालिकामा ४.५ प्रतिशत, नगरपालिकामा ४ प्रतिशत र गाउँपालिकामा २ प्रतिशत रजिष्ट्रेशन शुल्क तोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।