ओमानमा एक नेपाली महिलाको हत्या, अर्की महिलाको शंकास्पद मृत्यु

 जेठ १२, २०७६ आइतबार १४:३२:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – ओमानमा एक नेपाली महिलाको हत्या भएको छ । अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ ।  वैदेशिक रोजगारीका लागि २२ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो । 

ओमानको सलाहमा बस्दै आएकी अप्सरा दाहालको चक्कु हानेर हत्या गरिएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । चक्कु हानेर घाइते हुनुभएकी अप्सराको उपचारका क्रममा अस्पतालमा ज्यान गएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । अप्सराको शव अहिले सुल्तान अलकाबुस अस्पतालमा राखिएको छ । 

अप्सरा एक बंगाली नागरिकसँग बस्दै आएकाले हत्यामा तिनै बंगाली नागरिक संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको छ । अप्सराको हत्या भएको ठाउँ सलाह ओमानको राजधानी मस्कटबाट एक हजार किलोमिटर भन्दा धेरै दुरीमा पर्छ ।

घटना भएको ठाउँ टाढा भएकाले दूतावासको प्रतिनिधि पठाउने तयारी भइहरेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

यस्तै बर्दियाकी सुनिता सार्कीको भने शंकास्पद मृत्यु भएको छ । उहाँ झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । तर घुँडाले भुईं छोएकाले सुनिताको मृत्यु शंकास्पद देखिएको हो । सुनिताको मृत्युका बारेमा दूतावासलाई कुवेतमा रहेकी उहाँकी दिदीले जानकारी गराउनुभएको हो । 

सुनिता भिजिट भिसामा ओमान पुगेर घरेलु कामदारको रुपमा काम गर्दै आउनुभएको थियो । अप्सरा र सुनिता दुवै जना काम गर्ने ठाउँ छोडेर भागेर बंगाली नागरिकसँग बस्दै आएको प्रारम्भिक जानकारी पाएको दूतावासले बताएको छ । 

सुनिताको कोठामा बंगाली महिलाको परिचयपत्र फेला परेकाले सुरुमा बंगाली नै भएको भन्दै स्थानीय निकायले बंगादेशको दूतावासमा खबर गरेको थियो । तर पछि सुनिता नेपाली भएको खुलेपछि खबर गर्दा ढिलो खबर पाएको दूतावासले जनाएको छ । 


 

तपाईको प्रतिक्रिया