राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
काठमाण्डाै – कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौंरीपालन संरक्षण र प्रवर्द्धनमा सङ्गठित प्रयास गर्नुपर्ने बताउनुभएको छ । याक दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा कृषिमन्त्री अधिकारीले याक र चौंरी नेपालको पहिचान, गौरव र धरोहर रहेको भन्दै संरक्षण र प्रवर्द्धनमा जोड दिनुभएको हो ।
याकप्रतिको आकर्षण बढाउन तथा जैविक तथा आर्थिक महत्त्व उजागर गर्न सरकारले यस वर्षदेखि वैशाख ७ गते याक दिवस मनाउन थालेको हो । ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, रसुवा, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, डोल्पा, हुम्ला, मुगु, जुम्ला, दार्चुलालगायत २९ वटा जिल्लामा चौंरी पालिन्छ ।
हिमाली पारिस्थितिक प्रणालीका अभिन्न अङ्गका रूपमा रहेका चरन र गोठ मासिँदै जाँदा याक र चौंरी पनि हराउँदै गएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालमा याक, नाक, चौंरीको सङ्ख्या ६९ हजार ९ सय ७८ रहेको थियो । तर आर्थिक वर्ष २०७८/७९ मा ६२ हजार ५ सय ६१ मा झरेको छ ।
हिमाली क्षेत्रको तापक्रम बढ्नु, डढेलो, हिमाली क्षेत्रमा उच्च वर्षा, हिउँ कम पर्नु, बाढी पहिरोलगायतका कारण चौंरीपालन व्यवसायमा सङ्कट थपिएको छ । बाउबाजेले अँगालेको पेशा युवा पुस्ताले छोड्दै गएका छन् । लेकाली जङ्गलमा बसिरहन कठिन भएकाले गोठालाको अभाव हुँदा याक, नाक र चौंरीपालन कम हुँदै गएको छ ।
यस्तै हिउँ चितुवाको आहारा जङ्गली जनावरको सट्टा चौंरीगाई हुने क्रम बढेकाले पनि चौरीपालन घटेको छ । चौंरीपालन व्यवसायलाई जोगाउन पशु स्वास्थ्य व्यवस्थापन एवम् बीमा, उन्नत चरन, खर्क विकास र सुधारलगायत गर्न सकिने चौंरीपालकहरू बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।