वैदेशिक रोजगारीको जानकारी अब मोबाइलबाटै, आजदेखि ई टोकन सुरु

 मंसिर १५, २०७६ आइतबार १७:५७:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले आइतबारबाट ई–टोकन प्रणाली सुरु गरेको छ । ई–टोकन भनेको विद्युतीय पालो प्रणाली हो । श्रम स्वीकृति लिनको लागि पालो कुर्नुपर्ने पुरानो अवस्थाको अन्त्य गर्न विभागले ई–टोकन प्रणालीको सुरु गरेको हो ।

श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेश गर्नेबित्तिकै आवेदनमा राखेका इमेलमा कुन दिनको पालो छ भनेर म्यासेज आउँछ । श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमा मेसेजबाटै प्राप्त गर्न र सेवाग्राहीले फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर पठाउने विभागले जनाएको छ ।

आवेदन बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृति या अस्वीकृत  भएमा वा थप कागजात पेश गर्नु परेमा पनि यो प्रणालीबाट मोबाइलमा म्यासेज पठाएर जानकारी गरिन्छ । 

अब पालो कुन दिन आउँछ भन्ने कुरा त्यसैमा देखाउने भएकाले पहिले जस्तो श्रम कार्यालयमा पुगेर लाइन लाग्न नपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुसालले बताउनुभयो ।

श्रम स्वीकृतिको लागि फाराम भर्दा आफ्नो सही मोबाइल नम्बर भरियो कि भरिएन भनेर पक्का गर्न विभागको आग्रह छ । यस्तै इमेल र पासवर्ड सकेसम्म आफ्नै भर्नुपर्ने हुन्छ । यदि आफ्नो इमेल छैन भने नयाँ इमेल बनाएर भर्न र बनाएको इमेल र पासवर्ड टिपेर राख्न सकिन्छ ।

पछिल्लो समय सेवाग्राहीको सहजताको लागि वैदेशिक रोजगार विभाग विद्युतीय प्रणालीमा गइरहेको क्रममा ई–टोकन प्रणालीको सुरु गरेको हो ।

आफूलाई पायक पर्ने ठाउँबाटै श्रम स्वीकृति लिन मिल्ने

आफूलाई पायक पर्ने जुनसुकै श्रम कार्यालयबाट पनि श्रम स्वीकृति लिन सकिनेछ । त्यसको लागि आवेदनमा आफूले श्रम स्वीकृति लिन चाहेको श्रम कार्यालय छान्नुपर्ने हुन्छ । 

ई–टोकन प्राणाली लागू भएपछि श्रम कार्यालयमा लाग्ने भिड कम हुने विभागले जनाएको छ । यसबाट सेवाग्राहीहरुलाई सहज हुने र ठगी हुनबाट जोगिने विभागको विश्वास छ ।
 

1 Comments

  • Loka nath acharya

    Dec. 3, 2019, 9:15 a.m.

    यो प्रक्रियावाट पनि छिटो काम हुन्छ जस्तो लागेन /

तपाईको प्रतिक्रिया