शिक्षकहरूले उठाएका सम्भव मागलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको प्र...
बैशाख ८, २०८२ सोमबार
स्कुल पुग्न तीन मिनेट ढिलो हुँदा विद्यार्थीलाई कान समातेर उठबस गर्न लगाउने गुरुहरूले कक्षामा नटेकेको तीन हप्ता भयो । विद्यार्थीको हाजिरी कापी दराजमा थन्क्याएर हिँडेका उनीहरू काठमाण्डौको सडकमै हाजिर बजाउँँछन् । कक्षाभित्र विद्यार्थीको हाजिर गर्नुपर्ने बेला गुरुहरू सडकमा बसेर आफ्नो मात्रै हाजिर गरेको गर्यै, नयाँ कक्षामा बसेर नयाँ हाजिर पर्खेर बसेका चेलाहरू हेरेको हेर्यै !
उबेला कक्षामा को विद्यार्थी आए, को आएनन् भनेर शिक्षकहरू सोधीखोजी गर्थे । स्कुल नआउनेलाई किन नआएको भनेर केरकार गर्थे । छिटो आउनु भनेर खबर पठाउँथे । अहिले पढाइ शुरू हुने समय घर्किँदा पनि विद्यार्थी स्कुल गएका छैनन्, घरमै छन् । विद्यार्थी किन स्कुल आएनन् भनेर सोधीखोजी गर्ने शिक्षक अर्को शिक्षक किन आन्दोलनमा आएन भनेर फोन लगाउन व्यस्त छन् । गुरुहरू सडकमा बसेर अर्को गुरुलाई सडकमा आउन निम्तो दिने, नत्र भाग खोसिएला भनेर बोलाएको बोलायै, गुरुले बोलाउने आशमा चेलाहरू फोन हेरेको हेर्यै !
कक्षा शुरू हुनुभन्दा पहिले राष्ट्रिय गानका लागि लाइन लाग्थ्यो । गुरुहरूले ‘गोडाफाट...सतर्क...गोडाचाल’ भन्दै एकछिन उफार्थे, अनि सीधा उभिएर सयौं थुँगा फूलका हामी...भन्दै राष्ट्रिय गान गाउन लगाउँथे । स्कुल जान नपाएर राष्ट्रिय गान बिर्सने बेला भैसक्यो । ‘गोडा फाट, सतर्क...’ भन्दै राष्ट्रिय गान गाउन लगाउने गुरु ‘हाम्रो माग पूरा गर’ भन्दै एकोहोरो सडकमा कराउँदैछन् । स्कुलको पहिलो घण्टी बज्ने बेला पारेर गुरुहरू प्लेकार्ड बोकेर सडकमा उफ्रेको उफ्र्यै, पहिलो घण्टी नबज्दै स्कुल पुगेर लाइनमा बस्ने चेलाहरू घर बसेर मोबाइल हेरेको हेर्यै !
स्कुलमा त सरमिसहरूले नाचगान गरेको देखिँदैनथ्याे । अतिरिक्त क्रियाकलाप गराउने र साना कक्षामा नृत्य सिकाउनेहरूले कहिलेकाहीँ गला र गोडा घुमाउँथे । तर सडकमा त सबै शिक्षक नाच्न र गाउन खप्पिस । कोही टाउकोमा कालो चश्मा भिरेर कम्मर मर्काउने । कोही जुत्ता टल्काएर खुट्टा दोबार्ने । कोही सिनेमाका हिरो, हिरोइनको नक्कल गर्दै जोडी बाँधेर ज्यान हल्लाउँदै मस्किने । एकथरी पुरुष शिक्षकले त पाइन्टमाथि साडी ढल्काएर ब्रेक डान्सै गरे । झ्याउरे, देउडा, मारुनी, भजन, चुड्का, दोहोरी टिकट नकाटी हेर्न पाइने । मेला महोत्सव हो कि आन्दोलन हो छुट्याउनै मुश्किल । पहिलेदेखि नै नाचगान गर्न जानेकाले कम्मर मर्काएर प्रतिभा देखाउने ठाउँ पाए । जान्दै नजानेकाले ज्यान हल्लाउने कला सिके । चेलाहरूलाई बाटो देखाउने गुरुहरू बाटोमा बसेर कम्मर मर्काएर टिकटक बनाउँदै, चेलाहरू ट्वाँ परेर टिकटकमा गुरुहरूको चर्तिकला हेर्दै !
गुरुहरू नाचगान र भजन चुट्कामा मात्रै होइन, जादू देखाउन पनि खप्पिस रैछन् । उता उत्तरपुस्तिकामा सम्भव हुने उत्तर पनि नदिएर चेला जाँचमा फेल, यता असम्भव हुने कुरा पनि देखाएर गुरु जादूमा पास । गुरुको जादूले सडकमा काम गर्याे, चेलाको जाँचमा चाहिँ काम गरेन । गुरु कागजको छत्रे टोपी ढल्काउँदै आकाशतिर फर्किएर जादू देखाएको देखायै, चेला जाँचमा फेल भएको कागज पोको पारेर भुइँतिर हेरेको हेर्यै !
सरकारी स्कुल बन्द गरेर हिँडेका कतिपय गुरुहरूका छोराछोरीसमेत नयाँ झोला र कापीकिताब बोकेर फुरफुर हुँदै बोर्डिङ स्कुल जान थालिसके । सडकमा कम्मर मर्काएर नाच्ने शिक्षककै लगानी रहेको बोर्डिङ स्कुलमा पनि पढाइ शुरू भयो । सरकारी स्कुल बन्द रहेको स्वाद बोर्डिङ स्कुललाई थपियो । बोर्डिङ स्कुलमा लगानी गर्ने र बोर्डिङ स्कुलमा छोराछोरी पढाउने सरकारी गुरुहरू बाटोमा चटक देखाएको देखायै, सरकारीमा पढ्ने चेलाहरू बोर्डिङ हिँडेको साथीको बाटो हेरेको हेर्यै !
स्कुल चलाउने गुरु र देश चलाउने महागुरुहरू बेलाबेला बातचित गर्छन् । मसक्क मस्केर फोटो खिचाउँछन् । सरकारी स्कुलको गुणस्तर खस्कियो भनेर रुवाबासी पनि गर्छन् । उबेलादेखि आश्वासन मात्रै बाँड्न जानेका महागुरुहरूसँग गुरुहरूलाई दिन त्यही पुरानो आश्वासन मात्रै बाँकी छ । संसदीय समितिमा छिटो काम सक्ने छाँट नभए पनि महागुरुहरू अर्को आश्वासन थप्छन्– ऐन छिटै पारित हुन्छ, स्कुल जानुस् । संसद्ले मात्र ऐन पारित गर्छ भन्ने थाहा भएर पनि गुरुहरू अत्तो थाप्छन्– अहिल्यै ऐन हातमा राख, लिएर मात्र जान्छौँ । गुरुहरूलाई मागेको कुरा दिएर स्कुल फर्काउने महागुरुहरू आश्वासन बाँडेको बाँड्यै, गुरुहरू मुन्टो हल्लाएर कम्मर मर्काएको मर्कायै, स्कुल जाने बाटो पर्खेर बसेका चेलाहरू गुरु र महागुरुहरूका दोहोरी हेरेको हेर्यै !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।