परदेशमा मन मात्रै भत्किएको छ, खै के मा फर्कनु र ?

 बैशाख १६, २०७७ मंगलबार १८:३३:३७ | मेरो कथा मेरो भोगाई

मणि लामा/नुवाकोट ।  

अभाव र बाध्यताको भारी पिठ्युँमा बोकेर लाखौं नेपाली युवायुवतीहरु जस्तै म पनि सात समुद्र पारीको देश कतारमा पसिनाको सिँचाइ गर्न तल्लीन छु । नामै त परदेश, आफ्नो छायाँ बाहेक सबथोक पर पर ।

झण्डै चारलाखको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको कतारमा मैले आफूलाई पनि त्यही भिडमा मिसाएकी छु । विदेशी भूमिमा आफ्नो देश र परिवारसँग टाढा हुन कसलाई मन लाग्छ र ? कसलाई पो रहर छ र ? तर बेरोजगारीको चपेटामा परेपछि हरियो पासपोर्टलाई जिन्दगीको सारथी बनाउन बाध्य छु । 

सुकिलामुकिला पोशाक लगाएर कलेजमा अध्ययन गर्न जाने उमेरका म जस्ता हजारौं नेपाली युवतीहरु पराईको हप्कदप्की सहँदै काम गरिरहेका छौं । त्यसैमा आफ्नो उज्वल भविष्य खोजिरहेका छौं ।

त्यसैमा आफ्ना परिवारको सुख र खुशी खोजिरहेका छौं । कहिलेकाहीँ त यस्तो लाग्छ, २० औं वसन्त पार गर्दा नगर्दै छिमेकी देशले हाम्रो पसिनामा बैना गरिसकेका हुँदा हुन् ।

त्यसैले त होला उच्च शिक्षा आर्जन गर्ने उमेरका युवा युवतीहरु खाडी मुलुकको तातो घाममा आफ्नो रोजिरोटीको लागि संघर्ष गर्न बाध्य छौँ । बाध्य र बाध्यताको पर्खालसँग पौंठेजोरी खेल्दाखेल्दै कोरोना भाइरस (कोभिड १९) मानव जातिसँग खेल्न आइपुग्यो ।

यो भाइरसले विश्व भ्रमण गरिरहँदा कतार पनि अछुतो रहने कुरै भएन । कतारमा कार्यरत नेपालीको अवस्थालाई संक्षेपमा भन्नुपर्दा धेरै कामदारहरुलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

विश्वका अरु देश जस्तै कतारले पनि कोरोनासँगको लडाईंमा कुनै कसर बाँकी राखेको छैन । आफूसँग भएको श्रोत, साधन र उपकरणहरु प्रयोग गरेर कतारी नागरिक र आप्रवासी कामदारको जीवनरक्षामा कतार सरकार पूर्ण चनाखो छ । 

मुस्लिम धर्मावलम्बीहरुको बाहुल्यता रहेको कतारमा स्थानीय कानुन हामी नेपाली कामदारहरुले सोचेको भन्दा कडा नै छ । यहाँको नियम कानुनलाई उल्लंघन गरेमा कडा सजाय हुन्छ । त्यसैले यहाँ आप्रवासी कामदारले सजक भएर कर्मको आटो पेल्नु अपरिहार्य छ ।

विश्व नै त्रासदी बनिरहेको यो महामारीको समयमा जन्मभूमि, आफन्त, परिवार र साथीसंगीलाई सम्झिनुको अर्काे विकल्प छैन । माया र सम्झानामा झरेका तिनै नुनिलो आँसुको स्वाद चाख्दै कोरोना विरुद्धको लडाकु बनेर नुनको सोझो गरिरहेकी छु । मृतकको सङ्ख्या र संक्रमितहरुको सङ्ख्या गन्दै कर्म गरिरहेकी छु । 

यो संकटको घडीमा देशसँगै देशको माया पनि झन् गाढा भएर आउँदो रहेछ । अनि जन्मिंदा रहेछन मनभित्र मनको बगाल । यो विषम परिस्थितिमा मेरा मन गर्भधारण भएर यति धेरै मनहरु जन्मिए कि, म भित्र मनको बगाल छ ।

म भित्र कारुणिक मनको समागम छ । म भित्र आँसु र रोदन मिसिएको मनको संगम छ । मभित्र भत्किएको मन छ । अनि म भित्र मन भत्किनुको पीडा छ । जुन पीडालाई बिर्सने प्रयास गरिरहेको छु, आफन्त र आफ्नै देशलाई सम्झेर ।

अन्तमा परदेशमा पसिनाको खेती गरिरहनु भएका सबै नेपालीहरुलाई समर्पित गर्दै कविताको छोटो हरफ लेख्न मन लाग्यो ।

परदेशमै जीवन भत्किएको भए

रातो बाकसमा स्वदेश फर्किन्थेँ होला

तर मन मात्रै भत्किएको छ 

खै के मा फर्किनु र ?

 

तपाईको प्रतिक्रिया