नेपाल सुपर लिग फुटबलमा आज ललितपुर र पोखरा खेल्दै
चैत २०, २०८१ बुधबार
सबैले भन्छन् कोरोनाले सबै कुरा बिगार्यो । तर मलाई लाग्छ कोरोनाले हामीलाई धेरै कुरा सिकाएको पनि छ ।
अझ धन कमाउन र गाउँ छाडेर परदेश हिँडेका मजस्ता युवालाई त झन धेरै कुरा सिकाएको छ । परदेशमा हुनेले यतिबेला के मात्र भोगेका छैनन् ! दुःख, अभाव डर र त्रास सबैथोक भोग्न परेको छ । एकातिर कोरोना लाग्ला भन्ने डर, अर्कोतिर छैन रोजगारीको भर ! अनि साहुको ऋण त छँदैछ ।
यी चिन्तनले नै अहिले परदेशीलाई आफ्नै ठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने महसुस गराएको छ । महामारीमा परेका युवालाई उद्धार गर्नुपर्दा सरकारलाई पनि लागेको होला नि यिनीहरुको पौरख देश विकासमा लगाउन पाएको भए !
अनि हामीलाई पनि लागेको छ परदेशमा दुःख सहनुभन्दा त आफ्नै बाँझो जमिनमा लहलह धानका बाला झुलाउन पाएको भए ।
यसअघि यस्तो लागेको थिएन । तर अब लागेको छ । यो अनुभवले पनि मलाई लाग्छ अब धेरैले खेर गएका खेतबारीमा खनजोत गरी सुन फलाउनेछन् । परदेशको खटाइबाट मुक्त हुनेछन् । सहर होइन गाउँलाई नै प्यारो ठान्नेछन् । गाउँलाई हराभरा बनाउने सोच बनाउनेछन् ।
सबैले आफ्नै गाउँठाउँमा केही गर्दा विस्तारै आफू आफ्नै देशमा आत्मनिर्भर हुनेछन् । विदेश जान ऋण काढ्न गाउँगाउँ डुल्नुपर्ने दिनको अन्त्य हुनेछ । देश छाडेर विदेश जाने होडले बाँझा भएका जमिन हराभरा हुनेछन् । एक्लै भएका बुवाआमाले फेरि आफ्नो छोराछोरीको साथ पाउनेछन् ।
मान्छे जत्रै भएर उम्रिएका झारहरु अब उखेलिनेछन् । ऐंचोपैंचो सुरु हुनेछ । मेलापात, खेताला, अर्मपर्म सुरु हुनेछ । मलाई लाग्छ यो कोरोनाले गाउँलाई एकपटक फेरि गाउँजस्तै बनाइदिनेछ ।