नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकले नेपालमै ठग्न थाले

 असोज १८, २०८० बिहिबार १६:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकहरूले समेत ठगी गर्न थालेका छन् ।

भिसा, अफर लेटर, श्रम स्वीकृति जस्ता कागजात देखाएर विदेशी नागरिकले नेपालीहरूलाई वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाउने भन्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । 

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार यसरी ठगी गर्ने दुई जना विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाकिस्तानको रावलपिन्डी घर भई अहिले ठमेल बस्ने नाजिर मोहम्मद र अजरबैजनका आयसेल हुसेनिल रहेका छन् । उनीहरूले वैदेशिक रोजगारीमा पठाउनेभन्दै झन्डै ८० लाख रुपैयाँ ठगी गरेको खुलेको छ । 

विभिन्न देश पठाउने प्रलोभन देखाएर ठगी गर्ने गरेको उजुरी परेपछि प्रहरीले निगरानी बढाएको थियो । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले मङ्गलवार उनीहरूलाई पक्राउ गरेको छ ।

पाकिस्तानी र अजरबैजनी नागरिक मिलेर नेपालीहरूलाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगललगायतका देशमा पठाइदिने भनी श्रम स्वीकृति लगायतका नक्कली कागजात देखाएर विश्वासमा पारेर ठगी गर्ने योजना बनेको थियो ।

विदेश पठाउने प्रक्रियाका लागि लाग्ने खर्च प्रतिव्यक्ति एक हजार अमेरिकी डलर लिने गरेको, नक्कली ‘अफर लेटर’, श्रम स्वीकृति, भिसा लगायतका कागजात देखाई रकम पठाउन लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ ।

पिडित श्रमिकलाई विश्वास दिलाउन अजरबैजानसमेत घुमाउन लगेको अनुसन्धानमा खुलेको छ ।

नाजिर र आयसेलले ८० लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया