कोशीमा फेरि सत्ताको किचलो शुरु, सरकारबाट माओवादी बाहिरियो, एमालेले नेतृत्व गर्ने

 चैत २६, २०८० सोमबार १८:२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर माओवादी प्रदेश सरकारबाट बाहिरिएको हो । माओवादीका मन्त्रीहरू राजेन्द्र कार्की, गणेश उप्रेती र नारायण बुर्जाले राजीनामा दिएका संसदीय दलका नेता इन्द्र आङ्बोले बताउनुभयो ।

आङ्बोले माओवादीले कांग्रेसका मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत पनि फिर्ता लिएको जानकारी दिनुभएको छ । अब नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत जुटाउने माओवादीले जनाएको छ ।

कोशीमा यसअघि कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । अब भने कार्की अल्पमतमा पर्नुभएको छ । अब उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । कोशीमा अब सरकार ढलेमा स्वतः मध्यावधि चुनाव हुने कांग्रेसको तर्क रहेको छ । तर एमालेसहितका दलले भने आफूहरूसँग बहुमत रहेकाले सरकार बन्न कानुन बाधक नहुने बताउँदै आएका छन् ।

यसैबीच एमाले र माओवादीसहितका ५३ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गर्दै प्रदेश प्रमुख खापुङसमक्ष तत्कालै संसदको विशेष अधिवेशनको माग गरेका छन् । उनीहरूले कोशी प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका विभिन्न पदाधिकारीलाई सङ्कल्प प्रस्तावमार्फत आवश्यक निर्देशन दिन आवश्यक रहेकाले धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशनको माग गरेका हुन् । तर कोशी सरकारले भने आउँदो जेठ ११ गते मात्रै प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । विशेष अधिवेशनको माग छल्न मुख्यमन्त्री कार्कीले जेठ ११ गतेका लागि संसद् बोलाएको भन्दै एमाले र माओवादीले विरोध जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया