देशभरका १ सय ३० ठाउँमा डढेलो, काठमाण्डौ विश्वको दोस्रो प्रदूषित शहर

 चैत २६, २०८० सोमबार १८:०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुक्खा बढेसँगै डढेलो र प्रदूषण पनि निकै बढेको छ । फागुनको अन्तिम र चैतको पहिलो हप्ता लागेको डढेलो पश्चिमी वायुको प्रभावले परेको वर्षाले निभाए पनि अहिले फेरि देशैका विभिन्न ठाउँमा डढेलो फैलिइरहेको छ ।

अमेरिकाको 'द नेशनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन' (नासा) को वेबसाइटको तथ्याङ्कअनुसार आज देशका विभिन्न एक सय ३० ठाउँमा डढेलो लागिरहेको छ ।

केही दिनदेखि नेपालमा सुक्खा बढिरहेको छ, तीन दिनयता वन डढेलाे पनि बढेको छ, हिजो पनि एक सय पाँच ठाउँका वनमा डढेलो लागेको थियो । अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले डढेको झन् बढ्ने जोखिम छ ।

स्थानीय वायुको प्रभावका कारण कतै कतै पानी परे पनि देशभरकै डढेलो निभाउने गरी पानी पर्न अझै केही दिन कुर्नुपर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले अझै एक हप्तासम्म वर्षाको सम्भावना नभएकाले डढेलो नियन्त्रणमा कठिनाइ हुनसक्ने बताउनुभयो । तत्काल ठूलो वर्षा नहुने भएकाले सुक्खा बढ्ने र तातो हावा चल्ने सम्भावना छ । यसले डढेलो बढाउन सक्ने पौडेलको भनाइ छ ।

नयाँ पालुवा पलाउने आशा र कतै कतै बदमास मनसाय भएका व्यक्तिहरूले वनमा आगो लगाउने गरेका छन् । आगलागीका कारण वनस्पति र जीवजन्तुको विनाश हुनुका साथै वायु प्रदूषण पनि निकै बढेको छ ।

अहिले काठमाण्डौ विश्वकै दोस्रो प्रदूषित शहर बनेको छ । थाइल्यान्ड पहिलो नम्बरमा छ । प्रदूषण बढ्दा विशेष गरेर श्वासप्रश्वासको समस्या बढ्ने तथा आँखा र छालामा समस्या देखिने गरेको छ ।

काठमाण्डाैकाे आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६२ भन्दा माथि छ । वातावरण अभियन्ता राजन थापाका अनुसार एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ । छातीरोग विषेशज्ञ डाक्टर निरज बमले प्रदूषणका कारण मानवीय स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम रहेको बताउनुभयो ।

वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, हृदयघात हुने समस्या देखिन सक्छ । उहाँले प्रदूषणको समयमा सकेसम्म घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न र बिहानको समयमा बढी प्रदूषण हुने भएकाले 'मर्निङ वाक' मा ढिलो गरी निस्कन आग्रह गर्नुभयो ।

अभियन्ता थापाका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सय वटाको हाराहारीमा डढेलाेको घटना घट्छन् । ८० प्रतिशत वन डढेलाेको घटना फागुन मध्यदेखि जेठको मध्यसम्म हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गरेको पाइन्छ ।

सडक निर्माण/विस्तार व्यवस्थित नहुनु, सडक व्यवस्थापनको सट्टा विस्तारमा मात्र जोड नदिनु, वातावरणमैत्री गाडीलाई प्राथमिकता नदिनुलगायतका समस्याले पनि वायु प्रदूषण नियन्त्रणमा समस्या भएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया