साझा यातायातले काठमाण्डौ उपत्यकामा ४० वटा बिजुली बस चलाउन थाल्यो

 चैत २७, २०८० मंगलबार १५:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाण्डाै उपत्यकामा ४० वटा बिजुली बस सञ्चालन शुरु गरेकाे छ । यसका लागि आवश्यक ११ वटा चार्जिङ स्टेशन साझाको हाताभित्र निर्माण भएको छ । यो देशकै सबैभन्दा ठूलो चार्जिङ डिपो हो ।

बिजुली बस र चार्जिङ डिपोको आज उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्धाटन गर्नुभयो । उहाँले अब नेपालमा अत्याधुनिक ट्राफिक बत्ती जडान कार्यलाई अगाडि बढाउने सरकारको योजना रहेको बताउनुभयो । यस्तै भूमि, व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले साझालाई सबैको अपनत्व हुनेगरी लैजानुपर्ने बताउनुभयो । साथै यसलाई नाफामूलक बनाउनुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले पुराना डिजलबाट चल्ने गाडीलाई बिजुलीबाट चल्ने बनाउने नीति ल्याउन सरकारसँग माग गर्नुभयो । यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले साझाका यातायात महानगरको खास क्षेत्रमा पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

चीनबाट आयात गरिएका नाै मिटर लामा ४० वटा बस चार्जिङ स्टेशनको अभावमा सञ्चालनमा आउन सकेका थिएनन्, अब भने त्यो समस्या नरहेको साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले बताउनुभयो । साझाकै हाताभित्र तीन महिना लगाएर १ दशमलव ५ मेगावाट क्षमता बराबरको बिजुली खपत गर्न सक्ने क्षमताको चार्जिङ डिपो निर्माण गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । साझालाई सरकारले लगानी गरेअनुसार त्यसको एक तिहाइ रकममात्र खर्च भएको पनि अध्यक्ष दीक्षितको भनाइ छ ।

वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यकाे फाइदाका लागि ल्याइएको बसको परीक्षण साझा आफैँले गरेको छ । चीनबाट आयातित ४० वटा बसमध्ये तीन वटा गएको जेठ १ गतेदेखि सञ्चालनमा आएकाे थियो । अहिले सञ्चालनमा आएका बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज हुने साझाले जनाएको छ । एक पटक पूरा चार्ज गरेपछि दुई सय किलोमिटरसम्म गुड्न सक्ने साझा यातायात सहकारी संस्था लिमिटेडका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयाे ।

साझाकाअनुसार बस होचो (लो फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि ठाउँ रहेको छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी र अरू सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । अरू बसभन्दा यी बस यात्रुका लागि बढी आरामदायी रहेको साझाकाे दाबी छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया